ललितपुर, १९ वैशाख । सचिन घिमिरे महालक्ष्मी नगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेर घर दैलोमा व्यस्त छन् । २४ वर्षका घिमिरे गत वर्ष काँग्रेसको महाधिवेशनमा महालक्ष्मी ३ बाट इकाई सभापति बनेका थिए । २३ वर्षमै इकाइ सभापति बनेर उनी चर्चित भएका थिए ।
सचिनले कलिलो उमेरमै इकाईको जिम्मेवारी सम्हालेका छन् । अहिले वडाध्यक्षको उम्मेदवार बनेर आफ्ना योजनाहरु सारेका छन् । उनले १ घर १ धाराको व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन् । इमाडोल क्षेत्रमा पानीको समस्या रहेकाले यसको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सार्वजनिक सम्पत्तिको उचित उपयोग, १५ शैयाको अस्पताल निर्माणलाई कार्यान्वयन गर्ने, बालविकास कार्यक्रम, युवा स्वाबलम्बन देखि महिला सशक्तिकरणका कार्यक्रम ल्याउने विषयलाई अगाडि सारेका छन् । उनले बोजेपोखरीलाई ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना पनि सारेका छन् ।