काठमाडौं, २० वैशाख । नेकपा एमालेका नेता भीम रावलले राजनीतिक दलहरुले अनैतिक गठबन्धन गरेर बहुदलमा निर्दलीयताको अभ्यास गरिरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने, “स्थानीय तहको निर्वाचनमा कतिपय ठाउँमा म देखिरहेको छु, कुनै ठाउँमा एमाले र राप्रपा, कुनै ठाउँमा ५ दलीय गठबन्धन र एमाले, कतिपय ठाउँमा गठबन्धन र राप्रपाको अनैतिक गठबन्धन भइरहेको छ । राजनीति भनेको केवल पद र प्रतिष्ठा मात्र होइन । सिद्धान्त र विचार, मूल्य र मान्यतालाई तिलाञ्जलि दिइएको छ । हामीले जे गरे पनि हुन्छ भन्ने कोणबाट बहुदलमा निर्दलीयताको अभ्यास भएको छ ।
साथै उनले एमसीसी पास भएपछि नेपालको कानुनभन्दा माथि रहन्छ भन्ने कुरा पुष्टि भएको पनि दाबी गरे । उनले भने, “एमसीसीमा नेपालको कानुनभन्दा माथि रहने प्रावधान सक्रिय हुन्छन् भन्ने अहिले आएर पुष्टि भएको छ । नेपाल राजपत्रमा एमसीसी पास भएको सूचनापछि अमेरिकी सहायक मन्त्री फ्री तिब्बतको मामिलाका लागि आउँदै छन् । सत्तासीन पार्टीहरुले पञ्चशील र असलंग्न परराष्ट नीतिको बर्खिलाप काम गरेका छन् । पञ्चायत पनि विदेश नीतिको सन्तुलन बिगारिएको थिएन । एमसीसी पास भएपछि अमेरिकाले ५ वर्षको हिसाब एकैचोटि गरी ८६ अर्बको अनुदान दिएको हल्ला चलाएको छ । यसरी पनि कहीं सहयोग हुन्छ ?”
उनले आईजीपी नियुक्ति मुलुकको ऐन कानुनका आधारमा हुने पनि बताए । उनले भने, “म प्रहरी महानिरीक्षकको बढुवालाई सही वा गलत म केही भन्दिनँ । सरकारले मौजुदा ऐन कानुनका आधारमा बढुवा गर्नै नसक्ने होइन ।”