काठमाडौं, वैशाख २० । दुई दशकदेखि नेपाली नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रंगकर्मी पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले लम्साललाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कवि काइँलाले नेपाली सहित्यमा युवा सहभागिता उत्साहजनाक रुपमा रहेकाले साहित्यले मूल बाटो समात्न थालेको बताए ।
युवा जोस, जाँगर र अनुसन्धानले नै नेपाली साहित्यको फाँट हराभरा बनाउने उनको भनाइ छ । अघिल्लो पुस्ताले सुरु गरेका केही अभियान युवाले पूरा गर्नुपर्ने र नयाँ नयाँ आयामको ढोका खोल्नुपर्ने उनले बताए ।
कायक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपपूर्वकुलपति एवम् कवि डा विष्णुविभू घिमिरेले युवा अवस्था साहित्यका लागि उर्वर समय भएको बताए । ‘यसकारण पनि युवाले नै नेपाली साहित्यलाई निर्देश गर्नुपर्छ,’ उनले भने, ‘पुरु लम्साल युवा छ, सक्रिय छ र केही न केही गरिरहन्छ । उसको सक्रियता लोभलाग्दो छ ।’ यस्ता प्रतिभालाई बचाएर राख्नुपर्ने उनको सुझाव छ ।
लम्सालले नाटक मात्र नलेखेर अग्रज पुस्ताका लेखकको खोजी गरेर अहिलेको पुस्तामा चिनाउने काम पनि गरिरहेको घिमिरेले बताए । ‘अनि हरिभक्त फर्किएनन् वृत्तचित्र हरिभक्त कटुवाललाई अहिलेको पुस्तामा चिनाउने पुरुको एउटा उदाहरणीय कार्य हो,’ उनले भने ।