Logo

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना



काठमाडौँ,२० वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद ईद–उल–फित्र पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले आज दिएको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान चाड ‘ईद उल फित्र’ पवित्र रमजानको एक महिने कठोर उपवासपछिको अन्तिम दिनमा पर्दछ र यो दिन पर्व मनाउन आकाशमा देखिने चन्द्रमाको आकार महत्वपूर्ण हुने बताएका छन् ।

मुख्यमन्त्री राईले सन्देशमा मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो भन्दै परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् भनेका छन् ।

उनले आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन् । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेकोले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको मुख्यमन्त्री राईले सन्देशमा व्यक्त गरेका छन् ।

उनले हाम्रो जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा ईद–उल–फित्रका अवसरमा हार्दिक शुभकामना दिएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्