Logo

वर्षा लागेपछि मात्रै नियमित बिजुली



काठमाडौं, बैशाख २१। उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो ।

यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैतरवैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ । त्यसपछि खोलारनदीमा पानीको मात्रा बढ्छ । खोलामा पानी बढेपछि विद्युत् उत्पादन स्वतः बढ्छ । त्यही आधारमा जेठ दोस्रो सातापछि विद्युत् आपूर्ति सामान्य हुने नेपाल विद्युत् प्राधिकरणले बताइरहेको हो ।

प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जेठ दोस्रो सातादेखि विद्युत् आपूर्ति सहज हुने बताए । ‘जेठ दोस्रो सातादेखि हिउँ पग्लिन थाल्छ र खोलामा पानीको मात्रा पनि बढ्छ,’ उनले भने, ‘त्यसपछि विद्युत् आपूर्तिमा हामी सहज अवस्थामा पुग्छौं र स्वदेशी उत्पादनले नै बजारको माग पूरा गर्न सक्छौं ।’

असारपछि वर्षा शुरू हुन्छ, त्यो बेला खोलामा पर्याप्त मात्रामा पानी हुन्छ । त्यसपछि बिजुली भारत निर्यात नै गर्न सकिने प्राधिकरणको भनाइ छ ।

राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता २ हजार मेगावाटभन्दा बढी छ । खोलामा पानी कम हुँदा अहिले ८०० मेगावाट हाराहारीमात्रै उत्पादन भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot