Logo

बैंकिङ प्रणालीमार्फत चुनाव खर्च गर्न आयोगको निर्देशन



काठमाडौं, बैशाख २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्तिमार्फत निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिता पालना गरी बैकिङ प्रणालीमार्फत निर्वाचन खर्च गर्न उम्मेदवार र राजनीतिक दललाई निर्देशन दिएको हो।

आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था गरेको छ। ‘उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नामसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। उनले अगाडि थपे, ‘राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा गर्नुपर्नेछ। ५० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत लिनुुपर्छ।’

उनका अनुसार व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ।

आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाइ तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने र निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।



प्रतिक्रिया दिनुहोस्