Logo

मतदाताका घरघरमा मत माग्दै उम्मेदवार



काठमाडौं, बैशाख २१ । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको आसन्न निर्वाचनलाई चौतर्फीरुपमा चासोका साथ हेरिएको छ।

मुख्यमन्त्री लालबाबु रावतको गृह नगर पर्साको वीरगञ्ज यतिवेला चुनावी रौनकताले तातेको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आआफ्नो प्रतिवद्धतापत्र लिएर मतदाताका घरघरमा पुगिरहेका छन्।

महानगरपालिकामा प्रमुख पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने उपप्रमुखमा दुई स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा उत्रेका छन्।

निर्वाचनमा दलहरुले गठबन्धन बनाउँदा प्रमुख पदमा नेपाली कांग्रेस, नेपकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट जसपाका नेता राजेशमान सिंह चुनावी मैदानमा छन् भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट एमालेका नेता निवर्तमान प्रमुख विजयकुमार सरावगी चुनावी मैदानमा होमिएका छन्।

तत्कालीन सङ्घीय समाजवादी फोरमबाट प्रमुखमा निर्वाचित सरावगीले पार्टीभित्रको अन्तर विवादका कारण पार्टी परित्याग गरी केही महिना अघि एमालेमा प्रवेश गरेका थिए।

उपप्रमुखमा सरावगीको प्यानलबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा र सिंहको प्यानलबाट कांग्रेसका जिल्ला सचिव इम्तियाज आलम चुनावी मैदानमा छन्। विशेष गरी यस महानगरपालिकामा यस पटकको निर्वाचनमा सरावगी र सिंहको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने जनाइएको छ।

प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, स्वतन्त्र प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जिवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह र रोज मियाँ अन्सारीलगायत चुनावी मैदानमा छन्। वीरगञ्ज महानगरपालिकामा हाल कूल एक लाख २४ हजार ६४७ मतदाता छन्।



प्रतिक्रिया दिनुहोस्