काठमाडौं, बैशाख २१ । बागबजारकी सम्झना खड्गी मंगलवार काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको घरदैलो प्रचार कार्यक्रममा सरिक थिइन्। उनी एमालेको पुरानो कार्यकर्ता भएकोले सबै तहका थुप्रै निर्वाचनको प्रचारमा सरिक हुँदै आएकी छन्। यो कारण पनि उनले चुनाव प्रचारका थुप्रै अनुभव बटुलेकी छिन्।
यसपालिको निर्वाचन प्रचारमा भने उनको फरक अनुभव छ। पहिला निर्वाचन प्रचारका लागि उम्मेदवारका तस्विर सहितका ठूला पर्चा, तुल, पोस्टर टाँगिन्थे।महिनादिनसम्म जनताको घर–घरमा उम्मेदवारको बारेमा पर्चा, पम्पलेट लिएर पुग्थे। यसपालिको प्रचारमा धेरैै कुरा फैलिएको छैन। हातमा पर्चा, पम्पलेट छैन, बजारमा तुल र ठूला पोस्टर छैन। सकै घरमा मेयर पुग्न पाएका छैनन्। यसपालि प्रचार गर्ने दिन पनि थोरै मात्र भयो। सबैतिर पुग्न सम्भव भएन, तै पनि घरदैलो कार्यक्रम जारी छ।
नेपाली कांगे्रसकी बागमती प्रदेश सहमहामन्त्री जीवन डंगोलको अनुभव पनि पहिलेको भन्दा अहिलको प्रचारमा धेरै परिवर्तन भएको अनुभव गरेकी छिन्। उनी काठमाडौं महानगरपालिकाको मेयर सिर्जना सिंहको प्रचारमा दैनिक जुटेकी छिन्। यस पालि निर्वाचनको आयोगको आचार संहिताले हरेक घरमा पुग्ने गरी घरदैलोमा पुग्न सम्भव भएन।
यो सम्भव नभएपछि कांगे्रसले अर्को नीति अनपाएको छ, त्यो हो हरेक टोल समिति रहेकको घरमा पुगेर आफ्नो उम्मेदवारको बारेमा जानकारी दिने। यतिले मात्र नपुने देखेपछि यो निर्वाचनमा नेपाली कांगे्रसले आफ्नो उम्मेदवारको घोषणापत्र र उम्मेदवारको बारेमा जानकारी दिन फेसबुक, ट्विटर, युट्युब र अनलाइन, टिकटकको सहारा लिएको डंगोलले बताइन्। ‘फेसबुक, ट्विटर, टिकटक, युट्युबबाट उम्मेदवारको प्रचार गरेका छौं, सीमाभित्र रहेर प्रचार गरिरहेका छौं,’ उनले भनिन्।
डिजिटल मिडियामार्फत नै कांगे्रसकी उम्मेदवार सिहं छ भन्ने कुरा सवै मतदातालाई जानकारी दिन सफल भएको उनले बताइन्। यो वाहेक अन्य रणनीतिवाट प्रत्येक वार्डमा घर–घरमा उम्मेदवार पुग्न सफल भएको उनले बताइन्।‘ नदेखिने भेटघाटहरू पनि परिचालन गरिरहेका छौं, त्यो सबै कुरा भन्न मिल्दैन,’ उनले भनिन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ को प्रचारमा खटिएका नेपाली कांगे्रस बागमती प्रदेश सदस्य राजु खरेल यसपालि नेपाली कांगे्रसले उम्मेदवारको परिचय र अजेन्डासहितको पर्चा बोकेर प्रत्येक वडाका टोल समितिमार्फत मतदाताको घरदैलोमा पुगेका छन्। नागरिक दैनिकबाट