जनकपुर, २१ वैशाख । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहरबस्ती पुग्ने उम्मेदवारले स्थानीय मतदाताको यो जवाफ सुनेपछि केही छिन अलमल्ल पर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगारपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा अवस्थित ४० घरपरिवारका बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ ।
एकातिर निजी जग्गा नहुँदा पूरै बस्ती नै ऐलानी जग्गामा बसोबास गरिरहेका छन् भने अधिकांशको घरमा अझै शौचालयको समस्या रहेको स्थानीयवासीको भनाइ छ । दैनिक मजदूरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका सो बस्तीका मतदाताले बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छाँंै भन्दै आएको छ । आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी फुलकुमारी सदाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताए।
‘‘सधैँभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं”, उनले भने, “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाईंदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।” स्थानीयवासी ५० वर्षीय झौला सदायले पनि घर र शौचालय बनाइ दिने उम्मेदवारलाई मात्र मत दिने बताए । “वर्षौंदेखि हामीले भोट हालेर माननीय मन्त्री बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरुको समस्या बुझ्नै आउँदैन्”, उहाँले भन्नुभयो, ‘‘त्यसैले यही बेलामा नेताहरुसँग केही कुरा माग्ने हो ।”
पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौँ, तर हाम्रो अवस्थामा भने केही सुधार आएन् उहाँले भन्नुभयो, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौँ ।” करिब पाँच वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालीको चुनावमा उहाँहरु सुरक्षित आवास र शौचालय खोजेका हुन् ।