Logo

ओली र लिङ्देनको गृहजिल्ला झापामा यस्तो छ चुनावी अंकगणित



काठमाडौं, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापामा स्थानीय चुनावमा कस्ले बाजी मार्ने हो ? चासो बढेको छ । झापा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि गृहजिल्ला हो । यसकारण पनि त्यहाँको चुनावी परिणामले केन्द्रीय राजनीतिमा समेत असर पार्न सक्छ ।

२०७४ को स्थानीय चुनावमा झापाका १५ पालिकामध्ये नेकपा एमालेले सबैभन्दा बढी ७ प्रमुख र अध्यक्ष जिताउन सकेको थियो । उसले १२ उपप्रमुख तथा उपाध्यक्ष जिताउन सक्यो ।

त्यतिबेला नेपाली काँग्रेसका ५ र राप्रपाका ३ पालिका प्रमुख र अध्यक्ष निर्वाचित भएका थिए । काँग्रेसका २ र राप्रपाका १ पालिका उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका थिए ।

यसपटक झापामा पाँच दलीय गठबन्धन बनेको छ । १५ पालिकामै गठबन्धन भएको छ । केही पालिकाहरुमा भने माओवादी एक्लिएको छ ।
पाँच वर्ष अघिको चुनावी अंकगणितलाई आधार मान्ने हो भने दमक र भद्रपुरमा एमाले उम्मदेवार निकटतम प्रतिद्वन्द्वीको मतभन्दा निकै बढी मतान्तरले विजयी भएका थिए । तर, झापाको नदीमा धेरै पानी बगिसकेको छ ।

यसपटक एमाले विभाजित हुनु र नेकपा एससहितको गठबन्धन मिलेर चुनाव लड्नुले कडा प्रतिष्पर्धा देखिन्छ । अर्कोतर्फ, राजेन्द्र लिङ्देनको उदयले झापाको चुनावमा ठूलै प्रभाव पर्ने देखिन्छ ।

ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् । उनको गृहजिल्ला भएकाले प्रतिष्ठाको विषय छ स्थानीय चुनाव ।

लिङ्देन पनि झापाबाट निर्वाचित सांसद हुन् । त्यही बलले उनले राप्रपाको अध्यक्ष बन्न सके । उनले पनि झापाको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । त्यहाँ दलहरुबीच अघोषित तालमेलको चर्चा पनि छ । यसले चुनावी नतिजामा ठूलो असर पार्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्