काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ५ दलीय गठबन्धन आफ्नो पार्टीलाई प्रत्युत्पादक नहुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “मूलतः गठबन्धन रणनीतिक निर्णय हो । कतिपय ठाउँमा हाम्रो मत ज्यादा हुँदाहुँदै पनि सानो दललाई किन प्रमुख दिएको भन्ने गुनासो छ । तर यो पार्टीको बृहत्तर हितका लागि गरिएको हो । तालमेल गर्दा विजय सहज हुन्छ । केही न केही उपलब्धि हुन्छ ।”
नेपाली कांग्रेसले एमालेसँग डराएर गठबन्धन नगरेको उनको स्पष्टोक्ति छ । डा. महतले भने, “कांग्रेस एमालेसँग डराएको छैन । डराउनु पर्ने कारण पनि छैन । गठबन्धन सरकारमा सामेल दलहरुले मिलेर जाने प्रस्ताव गर्दा नेपाली कांग्रेस उदार भएको मात्र हो । समग्रमा तालमेलले गठबन्धन दलहरुलाई त फाइदा छँदै छ, नेपाली कांग्रेसलाई पनि फाइदा नै छ । मलाई विश्वास छ, एमालेविरुद्धको मोर्चाबन्दी प्रत्युत्पादक हुँदैन । एमाले पनि गठबन्धनको अभ्यास गरेको छ । यस पटक एमालेभन्दा हामीले बढी जित्छौं । यसमा तालमेलले सहयोग गर्छ ।”
केही ठाउँमा बागी उम्मेदवारी परे पनि पार्टीको निर्णय सबैले मान्ने उनले ठोकुवा गरे । प्रवक्ता डा. महतले भने, “अधिकांश ठाउँमा मिलिसकेको छ । अधिकांश बागीहरुले फिर्ता लिएका छन् । अपवादस्वरुप केही ठाउँमा बागी उम्मेदवार छन् । नेपाली कांग्रेस पुरानो पार्टी हो । यसमा हजारौं हजार नेता कार्यकर्ता छन् । धेरै जना आकांक्षीमध्ये थोरैले उम्मेदवारी पाउँछन् । पार्टीको पक्षमा अत्यन्त राम्रो माहोल छ । मतदाता, शुभचिन्तक, समर्थकले पार्टीको निर्णय अनुसार नै मतदान गर्छन् । मैले केही घाटा हुने देखेको छैन ।”
नेपाली कांग्रेसको चुनावी एजेन्डा हावादारी नभएको पनि डा. महतले बताए । उनले भने, “विकास, समृद्धि र सुशासन हाम्रो एजेन्डा हो । हामीले जितेपछि ६५ वर्षमाथिकाले वृद्धभत्ता पाउँछन् । ५ हजार सुत्केरी भत्ता पाउँछन् । साना किसानले २ प्रतिशत ऋण पाउँछन्, १० हजारको क्रेडिट कार्ड पाउँछ । मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याकंनका आधारमा उत्कृष्ट १० पालिकामध्ये ६ वटा नेपाली कांग्रेसले जितेका पालिका थिए । एमालेले जितेको एउटा मात्र आएको छ । यसले नेपाली कांग्रेसले जितेर आउँदा सुशासन, कामप्रति केन्द्रित हुन्छ भन्ने स्पष्ट भइसकेको छ ।”
उनले एमाले कुरामा मात्र सिपालु भएको आरोप पनि लगाए । डा. महतले थपे, “केपी ओलीले रेल, पानीजहाज, घरघरमा ग्यासपाइपका उडन्ते कुरा गर्नुभयो । उहाँ कुरा गर्न सिपालु हुनुहुन्छ, हल्काफुल्का मनोरञ्जन दिनुहुन्छ, हँसाउनुहुन्छ । काठमाडौं महानगरमा त्योभन्दा बढी उठान भर्ने, आकाश–पाताल जोड्ने व्यक्ति उम्मेदवार हुनुभएको छ । यो कुरा जनताले बुझेका छन् ।”