Logo

गठबन्धन भनेको लुते र डरपोक ग्रुप हो, यसको पारा पञ्चायतभन्दा फरक भएनः डा. सुन्दरमणि दीक्षित



काठमाडौं, २२ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले स्थानीय तहको निर्वाचनमा गठबन्धनको खिचडी पकाउनेलाई भन्दा एक्लै लड्ने राजनीतिक दललाई मतदान गर्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, “लोकतन्त्र भनेको मतको स्वतन्त्रता हो । पार्टीहरुको विचार, सिद्धान्त र कार्यक्रमका आधारमा मतदान गर्ने हो । तर यहाँ गठबन्धनको खिचडी बनाएका छन् । मतदाताले आफ्नो दल रोज्न पाएनन् । गठबन्धनका नाममा माथिबाट निरंकुशता लादियो । तिनीहरु सबै केपी ओलीसँग डराए । अब एक्लै आउनेलाई भोट हाल्नुपर्छ ।”
नेकपा एमाले, राप्रपा, विवेकशील साझा पार्टीले जसरी आँट गर्नुपर्ने उनले औंल्याए । डा. दीक्षितले भने, “गठबन्धन भनेको लुते र डरपोक ग्रुप हो । राजेन्द्र लिङदेनले हिम्मत गरेर आएका छन् । केपी ओलीले हिम्मत गरेका छन् । विवेकशील साझाले हिम्मत गरेको छ । गठबन्धन भएन भने हामी हार्छौं भन्ने देउवाले भरतपुर जितेर देखाऊ भनेर हतोत्साही गर्न मिल्छ ? मैले कांग्रेसमा भोट हालें भने ५ भाग लाग्ने भो । एउटाले हालेको भोट अर्कोलाई जाने हो भने यो कसरी लोकतन्त्र भयो ? यो पञ्चायतभन्दा फरक भएन । बीपी बाबुले त कम्युनिस्टसँग हात मिलाउनु हुँदैन भनेका थिए । कांग्रेसले कम्युनिस्टलाई कसरी भोट हाल्ने ?”
अब राष्ट्रपतीय वा प्रधानमन्त्रीय पद्धतिमा जानुपर्ने उनले औंल्याए । डा. दीक्षितले भने, “पैसा नभईकन टिकट नपाउने, नजित्ने पद्धति कसरी चल्छ ? अब राष्ट्रपतीय वा प्रधानमन्त्रीय पद्धतिमा नगईकन हुँदैन । नत्र डेमोक्रेसी खतरामा पर्छ । यो पैसाको चुनाव हो, वैचारिक चुनाव होइन । निर्वाचन आयोग धृतराष्ट्र हो कि के हो ? शशांक कोइरालालाई किन स्पष्टीकरण सोधेको ? उनले त अझै कम खर्च भने होलान् । के हामी रामराज्यमा बसेका छौं ?”



प्रतिक्रिया दिनुहोस्