Logo

सुनसरीमा कुन दल कति बलियो (विवरणसहित)



काठमाडौं, २२ वैशाख । सुनसरीमा इटहरी र धरान उपमहानगरपालिकासहित १२ पालिकाहरुमा चुनावी रौनक चलेको छ । विगतको चुनावी परिणाम र अहिलेको फरक माहोललाई विश्लेषण गर्दा मुख्य प्रतिष्पर्धा गठबन्धनका दल र नेकपा एमालेबीच नै हुने देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि केही पालिकाहरुमा चुनौती देखिएको छ ।

२०७४ को स्थानीय चुनावमा १२ पालिकामध्ये नेपाली काँग्रेस ६ मा प्रमुख र ५ मा उपप्रमुख पदमा जित हासिल गरेको थियो । नेकपा एमालेले २ पालिकामा प्रमुख र ४ मा उपप्रमुख जितेको थियो । हाल जनता समाजवादी पार्टी भएको तत्कालीन संघीय समाजवादी पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो ।

विजयकुमार गच्छेदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमले २ पालिकाहरुमा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । अहिले उक्त दल नेपाली काँग्रेसमा विलय भइसकको छ ।

विगतको चुनावी परिणामलाई विश्लेषण गर्दा नेपाली काँग्रेस बलियो अवस्थामा थियो । सुनसरी काँग्रेसको गढका रुपमा पनि चिनिन्छ । तर, २०७५ को संसदको चुनावमा काँग्रेसलाई त्यहाँ धक्का लागेको थियो । यसपटक भने गठबन्धन केही पालिकाहरुमा बनेको र नेकपा एमाले पनि फुटेकाले परिस्थिति फरक बनेको छ ।

विगतको चुनावी परिणामलाई विश्लेषण गर्दा नेकपा एमालेको फुटले नेकपा एसमा १० देखि २० प्रतिशत मत मात्र घट्ने हो भने पनि फरक परिस्थिति बन्न सक्छ । तर, एमालेले मत झन् बढेको दाबी गरेको छ ।

काँग्रेसलाई गच्छेदारको दल पनि जोडिएकाले सुनसरीमा फाइदा पुगेको विश्लेषण भइरहेको छ । तर, जसपा र लोसपाको पनि केही पालिकाहरुमा बलियो पकड छ । यसकारण सुनसरीको चुनावमा उपमहानगरपालिकाहरुमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा देखिएको छ । बाँकी पालिकाहरुमा प्रतिष्पर्धामा काँग्रेस, एमाले, जसपा र लोसपा नै देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्