Logo

छोरीका लागि ज्यान फाल्ने प्रचण्डको ‘राजनीतिक अन्त्य’ भइसकेको छ: मणि थापा



काठमाडौं, २३ वैशाख । नेकपा एमाले स्थायी समिति सदस्य मणि थापाले परिवारका लागि ज्यान छाडेर लाग्ने पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अन्त्य भइसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “प्रचण्डको परिवार र छोरी रेणु दाहालबारे चर्चा गर्न मेरो त्यति रुचि छैन । तर प्रचण्ड जसरी छोरीका लागि ज्यान फालेर लाग्नुभएको छ, उहाँको राजनीतिको अन्त्य त्यही हो । छोरीको अस्तित्व रक्षाका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री सुम्पनु राजनीतिक आत्मसमर्पण हो । गठबन्धनको केन्द्र भरतपुर हो र गठबन्धनको निरन्तरताका लागि रेणु दाहाललाई नजिताए गठबन्धन टुट्छ भन्नु महामूर्ख तर्क हो । यो अराजनीतिक कुराको जनताले भोटमार्फत जवाफ दिन्छन् ।”
उनले स्थानीय निकायपछि यो गठबन्धन नरहने ठोकुवा गरे । उनले भने, “स्थानीय तहको निर्वाचनले मुलुकलाई नयाँ ध्रुवीकरणतिर लगेको छ । एउटा नेपाली कांग्रेसको नेतृत्वमा दक्षिणपन्थीको धार र अर्को नेकपा एमालेको नेतृत्वमा जनपक्षीय, देशभक्तको धार । त्यसमा एमालेले स्पष्ट बहुमत ल्याउँछ । किनभने उनीहरुको वैचारिक र राजनीतिक गठबन्धन होइन, एमाले र केपी अ‍ोलीलाई हराउने भन्ने नियोजित विचारबाट सिर्जित भएको छ । स्थानीय तहको निर्वाचन जनमत संग्रह हो । जनता जनार्दन हुन् । कांग्रेसभित्र गठबन्धन स्वीकार नगर्ने शक्ति बलियो छ । देशभरि ३५ प्रतिशत पनि छैन गठबन्धन । खिचडी गठबन्धनको भविष्य छैन ।”
भारतमा कंग्रेस आईको गठबन्धनमा जाँदा कम्युनिस्टहरु सकिएको उनले दृष्टान्त दिए । उनले भने, “प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बनेका छन् । एमालेको राष्ट्रवादी, देशभक्त र जनपक्षीय चरित्रसँग डराएका छन् । हिजो माओवादीसँग एमालेले गरेको गठबन्धन पार्टी एकताका निम्ति गरिएको थियो । वामपन्थीको पार्टी एकता त टिक्न सकेन । कांग्रेससँगको गठबन्धन भुइँतहको जनताले मन पराउँदैनन् । गठबन्धन जित र हारसँग जोडियो, समृद्धिको प्रश्नसँग जोडिएन ।”



प्रतिक्रिया दिनुहोस्