काठमाडौं, २३ वैशाख । डडेलधुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खडक ठकुराठीले हेलिकप्टरबाट मौसम अनुसार बीउ छर्ने र सिँचाइ गर्ने कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाबाटै गराउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ठकुराठीले भने, “म गरिबको छोरो हुँ । अपांग, घाइते हुँ । स्वतन्त्र चुनावी अभियान चलाइरहेको छु । टप्वाको डाँडादेखि भागेश्वर मन्दिरसम्म भक्तजनलाई लक्षित गरी केबुल कार चलाउने, मौसम अनुसार हेलिकप्टरबाट मौसम अनुसार बीउ छर्ने र सिँचाइ गर्ने, गौरीबगरदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा नेपाली झण्डाबाहक पानीजहाज चलाउने, गाई, भैंसी तथा बाख्राहरुलाई अस्पतालमा सुत्केरी हुने व्यवस्था गरिने आदि कार्यक्रम घोषणापत्रमा राखेको छु । मैले हारे पनि जित नै मान्छु । तर मैले हारे भने यहाँका जनतालाई पाप लाग्छ ।”
उनले आफूले जितेमा त्यसको उद्घाटन शेरबहादुर देउवाबाटै गराउने पनि बताए । ठकुराठीले भने, “मैले जनतालाई भिजन दिएको छु । जिताउने नजिताउने उहाँहरुको कुरा हो । मैले जितेपछि प्रधानमन्त्रीबाटै उद्घाटन गराउने हो । यो कार्यक्रम सम्पन्न हुँदा उहाँकै हाइट बढ्ने हो । हौसला बढाउने काम जनताको हो ।”
तपाईंलाई त भीम रावलको उम्मेदवार भन्छन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म स्वतन्त्र उम्मेदवार हुँ । फलानो ढिस्कानोको उम्मेदवार भन्ने छैन । भीम रावलसँग मेरो इष्टमित्रको नाता हो । त्यस हिसाबले कुराकानी स्वाभाविकै हो ।”