जनकपुरधाम, बैशाख २४। निर्वाचन नजिकिँदै जाँदा पनि जनकपुर उपमहानगरपालिकामा जितहारको स्पष्ट तस्बिर अनुमान गर्न सकिएको छैन ।
पाँच दलीय गठबन्धनले जसपा नेता लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी लगभग दुई गुणा बढी मतले मेयरमा निर्वाचित भएका थिए । उनले कांग्रेसका मनोज साहलाई पराजित गरेका थिए ।
लालकिशोर अहिले जसपाबाट र मनोज स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । अघिल्लोपटक द्विपक्षीय भिडन्त भएको थियो भने यसपटक धेरै उम्मेदवार हुँदा परिस्थिति फेरिएको छ ।
जनकपुरधामको मेयरका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । जसमा लोसपाबाट मनोजकुमार चौधरी, नेकपा एमालेवाट शिवशंकर साह ‘हिरा’, जसपाबाट लालकिशोर साह, स्वतन्त्रवाट मनोज साह, वलराम महतो र जानकीराम साह रहेका छन् । मनोज साह कांग्रेसतर्फका मेयरको उम्मेदवार थिए तर पाँचदलीय गठबन्धनमा जसपाको खातामा जनकपुरधाम परेपछि मनोज पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कांग्रेस स्रोतका अनुसार मनोजलाई जनकपुरधामका कांग्रेसीको पनि सहयोग रहेको छ । यतिसम्म कि विमलेन्द्र निधिका अधिकांश व्यक्ति मनोजको प्रचारमा लागेका छन् । निधिलाई मनोजको राजनीतिक गुरुका रूपमा जनकपुरधाममा चिनिन्छ ।
जनकपुरधाम क्षेत्रमा एउटा संघीय र दुईवटा प्रदेश सांसद जितेका लोसपा आफ्ना मेयरका उम्मेदवार मनोजकुमार चौधरीलाई जिताउन सक्रिय रूपमा लागेको छ । वरिष्ठ नेता राजेन्द्र महतोले आफै २४ वैशाखदेखि जनकपुरधाममै बस्ने बताएका छन् । नेता महतोले आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए ।
यता नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’का लागि एमाले नेता रघुवीर महासेठ र उनका धर्मपत्नी जुली महासेठ एक सातादेखि जनकपुरधाममा रहेका छन् । हिरा जनकपुर उद्योग वाणिज्य संघ र मधेस प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष रहिसकेका छन् ।
जसपाका उम्मेदवार लालकिशोर साह पाँच वर्ष जनकपुरधामको मेयर भइसकेका छन् । नगरमा खासै काम नगरेकाले उनीसँग स्थानीयवासी निकै असन्तुष्ट छन् ।
पाँचदलीय गठबन्धनको शनिबार जनकपुरधाममा सभा हुने भएपछि लालकिशोरको पक्षमा स्थिति बदलिने अनुमान गरिएको छ । राजधानी दैनिकबाट