बन्दिपुर, २४ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बन्दिपुरका भुपेन्द्र बानियाँ ‘राजु’ चुनावी मैदानमा उत्रिएका छन् । युवा नेता बानियाँलाई नेपाली कांग्रेसले बन्दिपुर गाउँपालिका–२ को वडाध्यक्षमा उम्मेदवार बनाएको छ ।
बन्दिपुरको पर्यटन विकासमा विशेष योगदान पर्याएका बानियाँ विभिन्न सामाजीक संघसंस्थामा आबद्ध छन् । उनी हाल नेपाली कांग्रेसको क्षेत्र न १ तनुहँको सचिवको भूमीकामा छन् । चुनाव नजिकिंदै जाँदा घरदैलो कार्यक्रम ब्यस्त बानियाँसँग हामीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गरेका छौ, प्रस्तुत छ, बानियाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः–
चुनाव नजिक आएको छ, यहाँले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ, तपाईको उम्मेदवारी के का लागि हो ?
बन्दिपुर–२ वडाको समृद्धी विकास, कृषिमा आधुनिकिकरण ल्याउन, ६० वर्ष भन्दामाथिका वृद्ध–वृद्धालाई औषधीको निशुल्क व्यवस्था गर्न, विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको पहल गर्ने, व्यवस्था गर्न, शैक्षिक स्तर वृद्धि र स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गर्न मेरो वडा नं.२ को वडाध्यक्षमा उम्मेदवारीे हो ।
पर्यटन क्षेत्रमा बन्दिपुरलाई थप विकास गर्ने र रेशमखेतीलाई प्रमोट गर्ने मेरो लक्ष्य हो ।
आगामी बैशाख ३० गते हुने चुनावको लागि अरु उम्मेदवार पनि छन् नी, वडावासीले तपाईलाई भोट किन दिने ?
बन्दीपुरको पर्यटनको क्षेत्रमा धेरै काम गरिसकेको छु, पार्टीको विभिन्न तहमा बसेर जनतालाई विगत १२ वर्षदेखि सेवा दिँदै आएको छु । जनताको घर–घरमा पुगेर उहाँहरुको समस्या बुझेर हल गर्न प्रयास गर्दै आएको छु । पीछडिएका वर्गको हकहितमा काम गर्दै आएको छु । ती वर्गको आर्थिक उन्नतीको लागि विशेष योजना बनाएको छु । कसरी जनताको खुशी र सुखी बनाउन सकिन्छ भनेर रातदिन खटिएको छु । अरु उम्मेदवार भन्दा वडाको नेतृत्व गर्न म सक्षम छु । अरु उम्मेदवारलाई भन्दा मलाई भोट दिँदा पक्कै पनि वडाको स्तर उन्नती हुनेछ । ढुक्क हुनुहोस् । भोट मलाई दिनुहोस् । एक गाउँ एक कृषि अभियान सचालन गर्नेछु ।
उम्मेदवार भइसकेपछि पक्कैपनि वडावासीको घर–घरमा जानुभयो होला, यहाँप्रति जनताको प्रतिक्रिया के छ ? के भन्नुहुन्छ मतदाताहरु ?
जनताबाट धेरै राम्रो प्रतिक्रिया पाएको छु । उहाँहरुले मलाई वडा हाक्न सक्ने क्षमता म मा देख्नुभएको छ र मलाई राम्रो सल्लाह सुझाव दिइरहनु भएको छ । जनताहरुले यस अघिका जनप्रतिनिधिहरुले गरेको काम प्रति असन्तुष्टि राख्दै त्यस्ता गल्ती सच्याएर अगाडी बढ्न सल्लाह दिनुभएको छ । उहाँहरुकै सल्लाह अनुसार म अघि बढ्नेछु ।
तपाईका चुनावी एजेण्डा चाँही के के हुन् ?
मेरो प्रमुख एजेण्डा भनेको ‘बन्दिपुर–२ निर्माणको आधार कृषि एवं पर्यटन पुर्वाधार’हो । खास गरी हाम्रो वडामा दलित, जनजाति वस्ती अलिकति बढी भएको कारणले पीछडिएको वर्ग दलितलाई कसरी अगाडी ल्याउने, कसरी शिक्षामा पहुँच पुर्याउने त्यसबारेमा विशेष योजना बनाएको छु । त्यस्तै, ६० वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क नियमित औषधी उपलब्ध गराउने र खानेपानी नपुगेका स्थानमा खानेपानी पुर्याउने छु । नेपाली कांग्रेसले पार्चे र सिमल्टारमा खानेपानी पुर्याएको छ त्यसरी नै अन्य स्थानहरु खानेपानी पुर्याउने छु । खहरेको माथिल्लो भाग, धारापानीको माथिल्लो भागमा पनि खानेपानीको समस्या छ । ती ठाउँमा खानेपानीको व्यवस्था गर्ने र आम समस्याहरुलाई कसरी दिर्घकालिन तरिकाले समाधान गर्न सकिन्छ भन्नेमा मैले केन्द्रीत गर्नेछु । अब वर्खा लाग्दैछ, बाटोहरुमा धेरै समस्या आउँछन्, भत्किन्छन् । अझै बाढीले बाटो बगाउँछ । सडक पुनःनिर्माण गर्ने र ती सबै समस्यालाई समाधान गरेर वडावासीलाई खुशी राख्ने छु । वडामा भएका सामुदायिक विद्यालयको स्तर बृद्धि गरेर नीजि विद्यालय सरह शिक्षाको व्यवस्था गर्नुछु । प्रत्येक विद्यालयमा प्ले गु्रपदेखि कक्षा सञ्चालन गनेछौ ।
बन्दिपुर पर्यटकीय स्थल भएकोले पर्यटनमा बृद्धि गर्न बजारमा मात्र केन्द्रीत भएका होम स्टेलाई स्तर उन्नती गर्दै बन्दिपुरमा आएका पर्यटकलाई पठाएर गाउँगाउँको आर्थिक स्तर उन्नती गर्ने लक्ष्य राखेको छु ।
यहाँका चुनाव जित्ने आधार के हुन् ?
विगत १२ वर्षदेखि निरन्तर समाजसेवामा लागेको छु । बन्दिपुरको निम्ती पर्यटन विकासमा लागेर होम स्टे सञ्चालन गर्न सफल भएका छौं । म निरन्तर यहाँको खानपानी, स्वास्थ्य, शिक्षा, बाटो घाटो सम्पुर्ण कार्यको विकासमा लागिरहेको छु सबैभन्दा ठुलो आधार त मेरा वडावासी नै हुन् । उहाँहरुले भोट दिनेमा म विश्वस्त छु । वडावासीलाई मात्र नभई मैले गाउँपालिकाका वासीहरु,जनजाति, दलितको विकासमा खटिएको छु ।
धेरै ठाउँमा सत्तासाझेदार दलबीच चुनावी गठबन्धन भयो, तर बन्दिपुरमा हुन सकेन, यसअघिको चुनावमा माओवादी केन्द्रले जितेको स्थानीय तह हो । आफुले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
माओवादी द्धन्द्ध कालमा सबैभन्दा पीडित भएको स्थान हो बन्दिपुर । बन्दिपुरका कांग्रेस नेता तथा कार्यकर्ताहरु हसियाँ हथौडामा भोट हाल्न तयार नभएपछि कुनै पनि गठबन्धन नभएको हो । बन्दिपुरमा अहिले कांग्रेसको जनलहर बढेको छ । गठबन्धन नभएपनि कांग्रेसले जित्ने आधार प्रशस्तै देखेका छौ ।
अन्त्यमा चुनावको मुखमा वडावासीलाई के भन्न चाहानुहुन्छ ?
सम्पुर्ण वडावासीलाई रुख चिन्हमा भोट दिएर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित सम्पुर्ण टिमलाई जिताउँन आग्रह गर्दछु । वडा नं.२ सहित बन्दिपुरको समृद्ध विकासको निम्ति सातै रुखमा मत दिन र नेपाली कांग्रेसलाई विजय बनाउन अपिल गर्दछु । र, मैले गरेका वाचा निर्वाचित भए लगत्तै इमान्दार भएर पुरा गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछु ।