काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कर्णबहादुर हिजो जिल्लाको पार्टी सभापति भएर अन्तर्घात गर्ने व्यक्ति भएले कुनै फरक नपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “२० वर्षसम्म शेरबहादुर देउवासँग नजिक भएर सहुलियत र सुविधा लिई जिल्लाको पार्टी सभापति रहेका कर्णबहादुर मल्लले सूर्यमा भोट मागेर अन्तर्घात गर्दा अघिल्लो निर्वाचनमा हामीले तीनवटा पालिका जित्न सकेका थिएनौं । अहिले ती दुइटा गाउँपालिका र एउटा नगरपालिका फर्काउने कोसिसमा छौं । अन्तर्घात गर्ने बाइकट भएकाले कांग्रेसले सहजै जित्छ । कांग्रेसलाई अप्ठ्यारो भएको कुरा अफवाह हो ।”
उनले डडेलधुराका सात वटै पालिकामा नेपाली कांग्रेसले जित्ने ठोकुवा गरे । महरले भने, “हिजो पार्टीभित्र बसेर असहयोग गरेका व्यक्ति कांग्रेसमा छैनन् । हिजो उनी रहँदा घाटा थियो । जनताले त्यो कुरा बुझिसकेको स्थिति छ । नेपाली कांग्रेस (बीपी) त बाइरोडमा हिँड्दा आएको मात्र हो । केपी ओलीसँग उनको साँठगाँठ छ । पछि उनी एमालेमै समाहित हुन्छन् । जेठ २ गते सातवटै पालिका जितेको खबर सुन्नुहुन्छ ।”
नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले त पार्टीले जिते बजेट दिन्न भन्नुभएछ नि भन्ने पत्रकार धमलाको प्रश्नमा महरले भने, “तीनै तहमा पार्टीकै सरकार भयो भने विशेष बजेट पाउन सकिन्छ, परिस्थिति अनुकुल हुन्छ भन्ने सन्दर्भमा त्यसो भन्नुभएको होला । मिडिया र सामाजिक सञ्जालमा आएका प्रस्तुतिले केही असमञ्जस भए पनि उहाँको भनाइको अर्थ त्यस्तो थिएन ।”
उनले कांग्रेसले जितेका पालिकामा विकासले रफ्तार लिएको पनि दाबी गरे । उनले थपे, “डडेलधुरामा २०४६ अघिसम्म ४ वटा हाइस्कुल थिए, अहिले ४६ पुगेका छन् । सडक थिएन, अहिले वडावडामा सडक पुगेको छ । काम गर्दै जाँदा केही गल्ती कमजोरी भएको भए नदोहोर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छौं ।”