Logo

गठबन्धनका नेताहरू एमालेले जित्छ भनेर तर्सिएका छन्, स्थानीय तहको चुनावमा उनीहरूको खैरियत छैनः विष्णु रिजाल



काठमाडौं, २५ वैशाख । नेकपा एमालेका नेता विष्णु रिजालले ५ दलीय गठबन्धनका नेताहरु केपी ओलीको व्यक्तित्वसँग आतंकित भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “५ दलीय गठबन्धनसँग विकास र निर्माणको कुरा छैन । कुनै गन्तव्य छैन । जनताले एकप्रकारको निराशा र अन्योल । पाँच थरी पार्टीका चिह्न खोजी खोजी भोट हाल्नुपर्ने बाध्यता छ । ५ दलीय नेताहरु लहर लागेर हामीले हार्यौ भने केपी ओली आउँछ, एमाले आउँछ, हामी सत्यनास हुन्छौ भनिरहेका छौं । यो चुनावमा उनीहरुको खैरियत रहने छैन भन्ने कुरा एमालेका सभाहरुले देखाइसकेको छ ।”
नेता रिजालले प्रचण्डले आफ्नी छोरी जिताउनका लागि निर्लज्ज भएर काम गरिरहेको पनि आरोप लगाए । उनले भने, “प्रचण्डको महत्त्वाकांक्षा हामीले बुझ्न सकेनौं । त्यसलाई हामीले स्वीकार्नै पर्छ । प्रचण्डले चाहेको पूरा भएको भए अहिले देश के भइसक्थ्यो ? उहाँलाई आफ्नी छोरी जिताउनु छ । अरु नेताहरुलाई कसैको श्रीमती र कसैको छोरा जिताउनु छ । प्रचण्ड कहिले एमाले, कहिले मधेसी, कहिले कांग्रेससँग मिलिरहनुभएको छ । आफ्नी छोरीले नजिते देश दुर्घटनामा जान्छ भनिरहनुभएको छ । यो छटपटाहट हो । एमाले कसैसँग तर्सिदैन । झिँगाको श्रापले डिँगा मर्दैन ।”
उनले एमालेलाई ललकार्ने रामचन्द्र पौडेल असफल र पराजित नेता भएको टिप्पणी गरे । रिजालले भने, “अघिल्लो निर्वाचनमा उहाँलाई हाम्रो पार्टीका सामान्य कार्यकर्ता किसान श्रेष्ठले हराएका होइनन् ? उहाँ सर्वाधिक असफल र पराजित नेता हो । प्रधानमन्त्री पदका लागि १७ पटक लडेको होइन ? महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाएपछि वानप्रस्थमा जान्छु भनेको व्यक्ति होइन ? उहाँसँग सुझबुझ हुन्थ्यो भने त तनहुँमा गोविन्दराज जोशी र डडेलधुरामा कर्ण मल्ललाई मिलाइहाल्नुहुन्थ्यो नि ।”
स्थानीय तहमा विकास भएन भन्ने अतिरञ्जित प्रचार मात्र भएको उनले बताए । रिजालले भने, “विकास भनेको दालभात तरकारी पकाएर दिने कुरा होइन, बाटोघाटो, स्वास्थ्य, शिक्षा, सञ्चार, होइन र ? स्थानीय तहमा विकास भएन भन्ने अतिरञ्जित प्रचार हो । अब यस्ता कुरा गर्न छोड्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot