काठमाडौं, २५ वैशाख । राष्ट्रिय सूचना आयोगले आफ्नो पन्ध्रौं स्थापना दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिका–७ की दुर्गा आचार्यसहित चारजनालाई ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९’ प्रदान गरेको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा विशेष समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कार प्रदान गर्नुभएको हो ।
आयोगले नागरिकमाझ सूचना प्रवाह गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सप्तरीको सप्तकोशी नगरपालिका–११ का कैलाश माझी, धनगढी उपमहानगरपालिका–१, कैलालीका उमिद बागचन्द र वीरगञ्ज महानगरपालिका–८, पर्साका मनोज रौनियारलाई पनि पुरस्कार प्रदान गरेको छ । पुरस्कृत व्यक्तित्वहरूलाई जनही ३५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र खादा ओढाई सम्मान गरिएको हो ।
यस अवसरमा आयोगले उत्कृष्ट सूचना अधिकारी पुरस्कारका साथै उत्कृष्ट कर्मचारी पुरस्कार पनि वितरण गरेको छ । आयोगले प्रदान गरेको ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९’ सूचना अधिकारीहरू चौदण्डीगढी नगरपालिका, उदयपुरका सत्यनारायण हुजदार, व्यास नगरपालिका, तनहुँका गोकर्णराज वाग्ले, जिल्ला समन्वय समिति, बाग्लुङका दुर्गाप्रसाद शर्मा, कमलामाई नगरपालिका, सिन्धुलीका ई. निर्मल लामा र यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका राजु अर्याललाई प्रदान गरेको हो ।
उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायब सुब्बा हेमन्त रिज्यालले ‘उत्कृष्ट कर्मचारी पुरस्कार–२०७९’ प्राप्त गरेका छन् । आयोगको स्थापना २०६५ वैशाख २२ गते भएको हो । विगत दुई वर्ष कोरोना महामारीका कारण स्थापना दिवस औपचारिकरुपमा मनाउन नसकेको आयोगले यसपटक भव्यताका साथ मनाएको हो ।
उसो त विक्रम सम्वत् २०५६ जेष्ठ २० गते पर्वतको जलजला गाउँ पालिका– ७ मा जन्मिएकी दुर्गा आचार्य नेपालकै हकमा सवैभन्दा कलिलो उमेरकी अभियन्ता हुन् । उनको प्रारम्भिक शिक्षा गाउँकै सरकारी विद्यालयमा भएको हो । पोखरा र भारतमा उच्च शिक्षा लिएकी उनी हाल काठमाडौंमा आइटी विषयमा स्नातक अध्ययनरत छिन् ।
अध्ययनमा सदा अब्बल आचार्यले समाजका विद्यमान विकृति–विसंगति हटाएर सूचनाको मौलिक हकलाई नागरिकसमक्ष पुर्याई ससक्त चेतना फैलाउने कार्यमा आफू लागिपरेको र आगामी दिनमा पनि लिगिपर्ने बताएकी छिन् ।