Logo

गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा



काठमाडौं, बैशाख २५ । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको छ ।

देशका ६ महानगरपालिकामध्ये काठमाडौं र भरतपुरलाई सत्ता गठबन्धनले साखको विषय बनाएको छ भने गठबन्धन आबद्ध दलका पहिलो र दोस्रो तहका शीर्ष नेता यी दुई महानगरमा दौडादौडमा छन् ।

काठमाडौंको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उपमेयर मैदानमा छन् । यसैगरी, भरतपुर महानगरमा माओवादी केन्द्रले मेयर पाउँदा कांग्रेसले उपमेयर लिएर मैदानमा होमिएको छ ।

यी दुई महानगरमा गठबन्धन आबद्ध शीर्ष नेताका छोरी र श्रीमती उम्मेदवार बनेका छन् । भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार बनेकी छन् भने काठमाडौंमा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंह मैदानमा छिन् ।

यी दुवै महानगरमा गठबन्धन आबद्ध कांग्रेस माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी सभासमेत गरिसकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताहरूले भरतपुर र काठमाडौंलाई केन्द्रमा राख्दै मत माग्दै आएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot