Logo

७७ जिल्लामै पुग्यो मतपत्र



काठमाडौं, बैशाख २५ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।

आयोगले वैशाख १३ गतेदेखि कडा सुरक्षा प्रबन्धका साथ मतपत्र जिल्लाजिल्लामा पठाउन शुरु गरेकोमा निर्वाचनको आउन एक साता बाँकी रहेको अवधिसम्म सबै जिल्लामा मतपत्र पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित स्थानीय तहका लागि प्याकिङ गराई चाँडै स्थानीय रूपमा मतपत्र ढुवानी गराउने आयोगका प्रवक्ता पौडेलको भनाइ रहेको छ ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल २ करोड ७ लाख ४६ हजार मतपत्र छपाइ भएको थियो ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका थिए ।

कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot