Logo

७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार



काठमाडौं, बैशाख २६ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ हजार मतपेटिका प्रयोग हुँदै छ भने निर्वाचनमा देशभर गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७७ वटै जिल्लामा आयोगको केन्द्रीय कार्यालयबाट मतपत्र पठाइएको र धेरैजसो जिल्लाका मतदान अधिकृतले मतपत्रसमेत बुझिसकेको जानकारी दिए ।

‘७७ वटै जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको छ, केही जिल्लाका स्थानीय तहमा मतपत्र ढुवानी गरेर पु¥याउन समय लाग्ने भएकाले मतदान अधिकृतलाई मतपत्र बुझाइसकिएको छ भने सहज ढुवानी गर्न सकिने स्थानीय तहमा २७ गते बेलुकासम्म मतपत्र पु¥याउनेगरी तयारी गरिएको छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि नयाँ नेतृत्व चुन्नेगरी हुन लागेको निर्वाचनमा आयोगले देशभर ७८ हजार मतपेटिकालाई तयारी अवस्थामा राखेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्