चितवन, बैशाख २६ । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्। राजधानीको बुढानीलकण्ठ नगरपालिकामा दुई मुख्य प्रतिस्पर्धीहरू नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले घरदैलोदेखि प्रचारप्रसारसम्मलाई निरन्तरता दिइरहेका छन्।
बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले निर्वाचन आफ्नो पोल्टामा पर्नेभन्दा मत काट्ने सम्भावना अत्यधिक देखिन्छ। सत्तारूढ राजनीतिक दलहरूबीच सहमति नजुटेपछि बुढानीलकण्ठ नगरपालिका मेयरमा नेपाली कांग्रेसबाट विनोद चालिसे, नेकपा एमालेबाट मिठाराम अधिकारी, नेकपा समाजवादीबाट बालकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी र स्वतन्त्र उम्मेदवार सुमित खरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रमा राई, नेकपा एमालेबाट अनिता लामा, नेकपा एकीकृत समाजवादीबाट प्रमिला सापकोटा र माओवादी केन्द्रबाट कमला गौतमले प्रतिस्पर्धा गर्दैछन्। १३ वडा रहेको बुढानीलकण्ठ नगरपालिकामा यसपटक विभिन्न पदमा गरी ३ सय ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये मेयरमा १५, उपमेयरमा ६, वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा बुढानीलकण्ठ नगरपालिका मेयरमा १३ हजार २ सय ४६ मतसहित नेकपा एमालेका उद्धव खरेल र उपमेयरमा १३ हजार १ सय ८८ मतसहित एमालेकी रमादेवी राई विजयी भएका थिए। कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्। २०७४ स्थानीय तह निर्वाचनमा वडा नं। ४ र ६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो।
यसपटक वडा नं १० र १३ मा कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन्। धेरै मतदाता रहेको वडा नं १० मा कांग्रेसले वडाध्यक्ष, २ सदस्य र नेकपा एकीकृत समाजवादीले २ उठाएर तालमेल गरिएको छ। त्यस्तै वडा नं १३ नम्बरमा गठबन्धनले कांग्रेसको वडाध्यक्षसहित २ सदस्य र नेकपा माओवादी केन्द्रले दुई जना सदस्य उठाएका छन्। बुढानीलकण्ठ नगरपालिकाका एमाले नेता पुरुषोत्तम नेपालले वडा न १२ मा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। बुढानीलकण्ठ नगरपालिका वडा नं २, ३, ११ र १२ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको प्रभाव देखिए पनि स्वतन्त्र उम्मेदवार सुमित खरेलको भूमिका निर्णायक हुने भएको छ। नागरिक दैनिकबाट