Logo

स्थानीय निर्वाचनः २०७९ भरतपुरमा प्रतिस्पर्धा पेचिलो



काठमाडौं, बैशाख २६ । भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। केन्द्रको समेत ध्यान आफूतिर खिच्न सफल यो महानगरपालिकाको चुनावी चर्चा विशेष रूपमा भइरहेको छ। कसले जित्ने यकिन नभए पनि यहाँको निर्वाचनलाई लिएर विभिन्न आकलन हुने गरेको छ। नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी गतिविधिले नयाँ मोड लिएको छ।

भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि २७ जना उम्मेदवार मैदानमा छन्। जसमा ११ जना स्वतन्त्र छन्। मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन दल, नेकपा एमाले र कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका पौडेलबीच हुने देखिन्छ। प्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र एमाले–राप्रापा गठबन्धबाट विजय सुवेदी उम्मेदवार छन्। ठुला साना सबै दल र उम्मेदवारले चुनावी अभियानलाई तीव्रता दिइरहेका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन र एमालेलाई प्राप्त मतका आधारमा अहिले नै परिणाम कता जान्छ भनेर आकलन गर्न कठिन छ। भरतपुरका वडामा छुट्टाछुट्टै लडेका दलहरूको २०७४ सालको नतिजा हेर्दा एमाले, कांग्रेस र माओवादीको मत बढी छ। अघिल्लो निर्वाचनमा वडाध्यक्षको नतिजालाई हेर्ने हो भने महानगरको प्रमुख शक्ति नेपाली कांग्रेस नै हो।

२९ वटा वडाका वडाध्यक्षको नतिजा हेर्दा कांग्रेसको मत ३८ हजार १ सय २७ छ। एमालेको ३७ हजार १ सय ९५ मतसहित दोस्रो स्थानमा छ। एमालेले भरतपुर–२६ मा वडाध्यक्षको उम्मेदवार उठाएको थिएन। त्यहाँ उसले माओवादी उम्मेदवारलाई सहयोग गरेको थियो। यो वडामा एमालेले पाएको मत यहाँ गणना गरिएको छैन।

महानगरमा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा धेरै पछि देखिन्छ। वडाध्यक्षका लागि २९ वटै वडामा उम्मेदवार उठाएको माओवादीले २१ हजार १ सय १८ मत ल्याएको थियो। सोझो हिसाबमा हेर्दा अहिले पनि सत्ता गठबन्धनका उम्मेदवारलाई जित्न सहज देखिन्छ। कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएपछि भने कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन। कांग्रेसभित्र देखिएको विद्रोहका कारण एमालेले फाइदा लिन सक्ने देखिन्छ।

२०७४ सालको निर्वाचनमा गठबन्धन हुँदा पनि एमालेले राम्रो मत ल्याएको थियो। वडा १९ मा मतपत्र नच्यातिएको भए एमालेले प्रमुख पद जित्ने अवस्था रहेको बताउने गरिन्छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot