Logo

एमालेलाई मधेशमा रघुवीर र प्रभुको भर



काठमाडौं, २६ वैशाख । विभाजनपछि चुनावी मैदानमा होमिएको नेकपा एमालेलाई देशभर चुनौती देखिएको छ । पाँच दलीय गठबन्धनका कारण एक्लै चुनावमा जानुपर्दा एमाले अप्ठ्यारोमा छ । उसलाई विगतको जितेका पालिका जोगाउन पनि मुश्किल छ ।

एमालेले मधेशमा धेरै आशा राखेको छ । त्यहाँ दुई प्रभावशाली नेताहरु एमालेको आशाको केन्द्र बनेका छन् । सचिव तथा मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठ र अर्का नेता प्रभु साहले एमालेलाई बढीभन्दा बढी पालिका जिताउने प्रयास गरिरहेका छन् ।

धनुषाका महासेठ उपप्रधानमन्त्री भइसकेका नेता हुन् । साह विगतमा मन्त्री भइसकेका छन् । उनीहरु दुवैजना मेधशमा प्रभाव बनाएकाहरु हुन् ।
धनुषामा महासेठले र रौतहटमा साहले बढीभन्दा बढी पालिका जिताउने पहल गरिरहेका छन् । मधेशमा गठबन्धन महानगरपालिका र उपमहानगरपालिकाबाहेकमा नबनेकाले एमालेले आशा धेरै राखेको छ ।

धनुषामा २०७४ को चुनावमा एमालेले ४ पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । यसपटक एमाले फुटेको असर धनुषामा पनि परेको । उसलाई काँग्रेस, माओवादी, जसपा र लोसपाको मुख्य चुनौती छ ।

रौतहटमा एमालेले गत स्थानीय चुनावमा कुनै पालिका जितेको थिएन । माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साह रौतहटका हस्ती मानिन्छन् । एमालेलाई उनको ठूलो भर छ । रौतहट र आसपासका जिल्लामा प्रभु साहको बलियो पकड छ । यही आधारमा एमालेले बढी सिट जित्ने आशा गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot