Logo

लगनशील अध्ययनले सफलता



काठमाडौँ,२६ वैशाख । स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन गरेका २६ छात्रछात्राले विसं २०७८ मा चिकित्सा शास्त्र, पारामेडिकल र इञ्जिनीयरिङमा पूर्ण छात्रवृत्तिको अवसर पाएको सो विद्यालयले जनाएको छ । पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्सा शास्त्रतर्फ दुई छात्रासहित १०, पारामेडिकलतर्फ एक छात्रासहित आठ र इञ्जिनीयरिङ क्याम्पस पुल्चोकमा आठ छात्र छन् ।

विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सातर्फ छात्रवृत्ति प्राप्त विद्यार्थी प्रज्वलराज माझीले शिक्षकको सही मार्गदर्शन र लगनशील भई अध्ययन गरेका कारण सफलता हासिल गर्न सफल भएको बताए ।

सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी दिवस थापाद्वारा स्थापित ‘सुरेन्द्र एवं रीता थापा स्मृति’ पुरस्कारबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थी नीरज रेग्मी र निकिता झालाई रु ३५ हजारको छात्रवृत्ति प्रदान गरियो । विसं २०५६ मा स्थापित विद्यालयमा दशजोड दुईको विज्ञान सङकायतर्फ एक हजार ६००, व्यवस्थापन र होटल व्यवस्थापनतर्फ १०० छात्रछात्राले अध्ययन गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot