धरान, २७ बैशाख । आसन्न स्थानिय निर्वाचनको मुखमा नेकपा एमालेको सुनसरी जिल्ला भित्र भाँडभैलो शुरु भएको छ । विगतको पार्टी अधिवेशनमा केपी ओली गुटले १० बुँदे गुटलाई पेलेर वडादेखि जिल्ला तहसम्म कब्जा गर्न र उम्मेदवार छनौटमा समेत ओली गुट हावी भएपछि चुुनावको मुखमा ओली इतर पक्षहरु देखाई दिने भन्दै निष्कृय भएर बसेका छन् ।
पार्टीको अधिवेशनमा रेवतीरमण भण्डारी समुहले खेमराज पोखरेल समुहका एकजना सदस्य समेत नराखी कमिटी गठन गरेका छन् । टिकट वितरणमा पनि भण्डारी समुह हावी भएपछि पोखरेल समुहले चुनावमा बदला लिने रणनीति अपनाएका छन् ।
सुनसरीको धरानमा पोखरेल समुहका भनेर चिनिने मोतीराज सुनुवार, विजय राई पनि निष्कृय जस्तै देखिएका छन् । विजय राईलाई कोणसभाको जिम्मेवारी दिईएको छ । तर, उनी एमालेको कोणसभा वाहेक अन्य कार्यक्रममा खासै सक्रिय देखिएका छैनन् । औपचारिकताका लागि मात्रै कोणसभामा देखा पर्ने तथा कोणसभा सक्किने वित्तिकै घर लाग्ने गरेका छन् ।
यसैगरी मेयर पदका हेभीवेट उम्मेदवार मनोजकुमार मेन्याङ्वोलाई पनि ओली समुहले लोप्पा खुवाएपछि पार्टीबाट विरक्तिएका छन् । उनीभन्दा जुनियर तथा चाकडी चाप्लुसीबाट राजनीतिमा उदाएकी मञ्जु भण्डारीलाई केपी ओलीको आर्शिवादमा दोहोर्याएर टिकट दिएपछि उनका समर्थक मतदाताहरु समेत रुष्ट बनेको एक जिल्ला सदस्यले बताए । मेन्याङ्वोलाई आर्थिक उप समितिको जिम्मेवारी दिएपनि चुनावी अभियानमा सक्रिय देखिएका छैनन् ।
बैशाख २४ गते धरानको भानुचोकमा आयोजित चुनावी आमसभामा पनि मेन्याङ्वो देखा नपरेपछि मञ्जु भण्डारीलाई संकट आइलागेको छ । उक्त चुनाबी आमसभामा मेन्याङ्वोलाई स्वागत भाषण गर्ने जिम्मेवारी दिइएको थियो । भानुचौकको सभामा १० बुँदे समुहका नेताहरुको समेत उपस्थिति थिएन । ओली गुटको पेलाई सहन नसकेर धरानका नेता रेवतीरमण राई हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै समाजवादीको धरान नगर अध्यक्षको कमाण्ड सम्हाल्न पुगेका छन् ।
यसैगरी एमालेभित्र १० बुँदे समुह भित्रका भनेर चिनिने स्थानिय नेताहरु राजमणी निरौला, नारायण स्ुवेदी, जयकुमार राई, प्रकाश राई, प्रदिप भण्डारीहरु पनि मञ्जु भण्डारी हराउ अभियानमा रहेको श्रोतको भनाई छ । उनीहरुले खुलेर पार्टी विरुद्ध भँडास नपोखे पनि भित्रभित्रै निष्कृय बसेकाले गठबन्धनका किशोर राईलाई फाइदा पुगेको छ ।
‘धरानको खानेपानी समस्या समाधान गर्न, केन्द्र र पार्टीमा राम्रो लविङ गर्ने ल्याकत राख्ने, २०५६ सालमा मेयर हुँदा आधुनिक धरानको जग खन्ने मनोज मेन्याङ्वोलाई एक पटक पुनः नगरमा ल्याउनु पर्छ भन्ने हाम्रो चाहना थियो तर, ओलीको पुच्छर बन्दै हिँडेका श्रीमान श्रीमतीले धरानमा एमालेलाई धुलिसात पारे ।’ १० बुँदे पक्षधर एक नेताले नाम नबताउने शर्तमा भने ।
मेयरकी उम्मेदवार मञ्जु भण्डारी समुहले पनि खेमराज पोखरेल समुहका उपमेयरका उम्मेदवार पदमप्रसाद लिम्वु, १३ नम्वर वडाको वडाध्यक्षका उम्मेदवार नेत्र काफले, १५ नम्वर वडाका उम्मेदवार नरेश ईंवारम जस्तालाई छानीछानी हराउन भित्रभित्रै षड्यन्त्र गरिरहेको कार्यकर्ताहरु बताउँछन् ।
आफनै श्रीमती मेयरको उम्मेदवार भएरपनि आफनो पक्षमा विश्वासीलो मान्छे नपाएपछि श्रीमान मुरारी सुवेदी नै निर्वाचन परिचालन कमिटिका संयोजक भएर चुनाबी अभियानमा लागेका छन् । त्यसो त धरानको एमालेलाई ‘श्रीमान श्रीमती प्राइभेट कम्पनी’ भनेर आलोचना भइरहेको छ । भण्डारीको समुहले १० बुँदे र खेमराज पोखरेल समुहका नेताहरुको निगरानी राख्न पाँचपाँच जना युवा संघका केटाहरुलाई सुराकीको रुपमा खटाएको चर्चा व्याप्त छ ।
भण्डारी नगरको कार्यवाहक मेयर हुँदादेखि नै विवादित भएकी हुन् । उनलाई नगरको श्रोत साधन चरम दुरुपयोग गरेको, श्रीमान मुरारी सुवेदीले नगरको ठेक्कापट्टाबाट कमिसन उठाउने गरेको, धरानको खानेपानी आयोजनालाई असफल बनाएको तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट तथा किर्ते पदाधिकारीलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ । कार्यवाहक मेयर हुँदा भण्डारीले नगरको ६३ लाख रुपैंया मासु रक्सीमा सकाएको भन्दै चर्को आलोचना भइरहेको छ । भण्डारीले नगरको बजेटबाट कतिपयलाई मोवाइल, ट्यावसमेत खरिद गरेर बाँडेको श्रोतको दावी छ । आफ्ना कार्यकर्ता तथा आफ्नो गुणगान गाउने केही एनजिओकर्मीलाई ४० हजार भन्दा बढीको सामसुङको ट्याव खरिद गर्न र त्यसको विल नगरपालिकामा पेश गर्न भनेकी थिइन् ।
भिसीको पैसामा चुनाब लड्दै प्रतिष्ठान दोहन गर्दै
मञ्जु भण्डारी धरानको उपमेयर हुँदै करिब डेढ वर्ष कार्यवाहक मेयर भइन् । त्यस यता उनको आर्थिक हैसियत ह्वात्तै बढेकोमा भण्डारीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशकलाई दुहुनो गाई बनाएकी छन् । यो चुनाब पनि भण्डारीले उपकुलपति डा। गिरीकै पैसामा लडेको चर्चा छ । गिरीले भण्डारीलाई चुनाब खर्च भनेर २० लाख रुपैंया सहयोग गरेको उपकुलपति कार्यालय श्रोतले बतायो ।
श्रीमान मुरारी सुवेदीले समेत आफ्नो एजेन्सीबाट प्रतिष्ठानका ४ हजार शिक्षक कर्मचारीको इन्स्योरेन्स गराउन उपकुलपति डा। ज्ञानेन्द्र गिरीका भ्रष्टाचारको संरक्षक बनेका छन् । मञ्जु भण्डारी, मुरारी सुवेदीकै संरक्षणमा उपकुलपति डा। गिरी प्रतिष्ठान तहसनहस बनाउन सक्रिय देखिएका छन् । प्रतिष्ठानमा भइरहेका जतिपनि ठूला उपकरण खरिद तथा ठेक्कापट्टामा भण्डारी तथा उनका श्रीमान मुरारी सुवेदीले भागशान्ती पाउने गरेका छन् । प्रतिष्ठानमा निर्माणाधिन मातृशिशु भवन निर्माणबाट मञ्जु तथा उनका श्रीमानले नियमित कमिसन उठाउने गरेका छन् । प्रतिष्ठानमा दर्जनौं कर्मचारी नियुक्ति गरेर उनीहरुबाट लाखौं पैसा उठाएको चर्चा पनि कर्मचारी वृत्तमा छ ।