Logo

विश्व ट्रेड युनियन महासंघको १८औं अधिवेशनबाट खनाल निर्वाचित



काठमाडौ, ३० बैशाख । इटालीको राजधानी रोममा हालै बैशाख २४–२७ गते सम्म सम्पन्न बिश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियु) को १८ ओै अधिवेशनबाट पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल ६२ सदस्यीय प्रेसिडेन्सीयल काउन्सिल सदस्य (केन्द्रीय सदस्य) मा नेपालको तर्फबाट आगामी पाँच बर्षका लागि तेस्रो पटक पुनः निर्बाचित भएका छन् ।

यस्तै बिश्व ट्रेड युनियन महासंघको ७ सदस्यीय आर्थिक नियन्त्रण कमिटीमा राष्ट्रिय कर्मचारी महासंघ नेपालका सहसंयोजक मोहनमान स्वांर निर्वाचित भएका छन् ।

यस्तै बिश्व ट्रेड युनियन महासंघको अध्यक्षमा साउथ अफ्रिकाका मजवान्डिले माइकल मकाइवा र निर्वतमान महासचिव जर्ज म्याभ्रीकोसलाई मानार्थ अध्यक्ष (अनररी अध्यक्ष ) मा निर्बाचित गरेको छ । महाधिवेशनले चार जना उपमहासचिव, दुई जना महिला उपाध्यक्ष सहित १५ जना उपाध्यक्ष र ११ जना थप सचिवालय सदस्य र ७ जना महिलाहरु समेत रहेको ६२ सदस्य प्रेसिडेन्सियल कमिटी गठन गरेको छ ।

साउथ अफ्रिकाको डरबानमा सन् २०१६ मा भएको १७ औं महाधिवेशनमा झन्डै १८ सय प्रतिनिधिले सम्मेलनमा भाग लिएकोमा यस पटक महामारी अझै पनि कायमै रहेका कारण महाधिवेशनमा बिश्वका ११७ देशका ३७ जना महिला प्रतिनिधि सहित ४१७ जना प्रतिनिधिले भाग लिएका थिए । चिन, लाओस, ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरुले भने भर्चुअल माध्यमबाट महाधिवेशनमा सम्बोधन गरेका थिए ।

बिश्व ट्रेड युनियन महासंघको महाधिवेशनमा अन्तर्राष्ट्रिय श्रम संगठन ( आइएलओ) का डेपुटी डाइरेक्टरले सम्बोधन गरेको उक्त कार्यक्रममा नेपालको तर्फबाट पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले सम्बोधन गरेका थिए ।

विश्व ट्रेड युनियन महासंघ सन् १९४५ मा स्थापना भएको हो । यस महासंघमा विश्वका १०५ देशका ट्रेड युनियनहरु आबद्ध १० करोड ५० लाख श्रमिकहरु संगठीत रहेका छन् । नेपालबाट ८ वटा ट्रेड युनियन महासंघहरु सदस्यको रुपमा आबद्ध रहेका छन । बिश्व ट्रेड युनियन महासंघको १८ ओै महाधिवेशनले “श्रमिकका आधारभूत आवश्यकता र अधिकार प्राप्तिका लागि तथा साम्राज्यवाद र पुंजीबादको वर्बर शोषणका विरुद्ध संघर्ष” भन्ने मुल नारा पारित गरेको छ ।

समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिका बिषयमा १० वटा प्रस्ताव र इटाली घोषणा पत्र जारी गरेको छ । अब बिश्व ट्रेड युनियन महासंघले आगामी पाँच बर्ष सम्म मुल नारा र इटाली घोषणापत्रका आधारमा महादेश स्तरमा तथा देशीय हिसाबले साम्राज्यवाद र पुंजीबाद विरोधी गतिविधिका साथै बिश्वका श्रमिकहरुको हकहित र अधिकारका बारेमा आफ्नो गतिविधि अगाडि बढाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot