काठमाडौं, ३० बैशाख । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) नै पहिलो दल बन्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले कांग्रेसलाई गठबन्धन गरेर जाँदा धेरै नै ठूलो घाटा लागेको बताए । उनले कांग्रेसलाई त मृत्युशैयामा पुगेकोसम्म भन्न भ्याए । उनले भने,”कांग्रेस त अब मृत्युशैयामा छ । उ त सबै ठाउँमा चुनाव जित्ने पार्टी हो नि, किनभने चुनाव जित्ने पालो उसको थियो । वामहरुले बेईमानी गरे । उनीहरुलाई दण्डित गर्नुपरेको थियो ।”
केसीले स्थानीय तहको निर्वाचनले नै संघीय चुनावको आँकलन गर्न सकिने बताए । उनले कुराकानीको क्रममा पत्रकार ऋषि धमलालाई तपाईँ प्रचण्डको पत्रकार हो भनेर प्रश्न गरेका थिए । पत्रकार धमलाले केसीलाई तपाईँ केपी ओलीको प्रवक्ता हो भनेर सोधेको अवस्थामा उनले उल्टै धमलामाथि यस्तो प्रतिप्रश्न गरेका हुन् ।