Logo

एमालेले ६० प्रतिशत जित्ने सम्भावना छः युवराज ज्ञवाली



काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “नेकपा एमाले बहुमत स्थानीय तह जित्ने सम्भावना छ । मत परिणाम अनुसार एमाले २०५४ सालको स्थानीय चुनावको नजिक छ । हामीले त्यतिबेला ६० प्रतिशत जितेका थियौं । अहिले पनि जित्छौं ।”
२०५४ मा त एमालेले गृहमन्त्री बामदेव गौतम भएको मौका छोपेर कब्जा गरेको होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा ज्ञवालीले भने, “हामीले कब्जा गरेको होइन, कब्जा गर्नेलाई रोकेका हौं ।”
नेता ज्ञवालीले महानगरपालिकामा कांग्रेसले एउटा पनि जित्न नसक्ने दाबी गरे । उनले भने, “गठबन्धनभित्रै अन्तरविरोध छ । कांग्रेसमा पनि बागीको बिगबिगी छ । उसले कहीं पनि जित्न सक्ने देखिँदैन । बरु एमालेको पहिलेको संख्यामा थपिन्छ ।”
मतदान प्रतिशत घट्नु समीक्षाको विषय भएको पनि उनले औंल्याए । एमाले उपाध्यक्ष ज्ञवालीले भने, “मतदान घट्नु भनेको गम्भीर समीक्षाको विषय हो । यो राम्रो संकेत होइन । लोकतन्त्रमा मतदानमा जनताको आकर्षण हुनुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्