Logo

देउवाद्वारा काँग्रेसको ‘रेस्क्यू’



काठमाडौं, ३१ वैशाख । स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले नेपाली काँग्रेसले सर्वाधिक पालिकामा प्रमुख जित्ने देखाएको छ । काँग्रेस मतगणना भएकोमध्ये सर्वाधिक १६४ पालिकामा प्रमुख पदमा अगाडि छ ।

काँग्रेस बढी पालिका जित्नेतर्फ बढिरहँदा उसको रणनीति सफल हुन लागेको देखिदैछ । २०७४ सालको स्थानीय निकाय निर्वाचनमा काँग्रेसले जितेका पालिकाभन्दा यसपटक बढी स्थानमा जित्ने संकेतहरु देखिइसकेको छ ।

काँग्रेसभित्र व्यापक विरोधका बाबजुद सभापति शेरबहादुर देउवाले गठबन्धनका पाँच दलबीच धेरै स्थानहरुमा तालमेल गराउन सके । तालमेल मात्र नभएका स्थानमा पनि गठबन्धनबीच एक अर्कालाई जित्न सकिने ठाउँमा सहयोगको आव्हान गरियो । यसको सबैभन्दा लाभ काँग्रेसले लिएको छ ।

गठबन्धनबीच तालमेल र गठबन्धनबाहिरका दलसँग तालमेल गर्न नपाउने सहमति भएबाट काँग्रेसले लाभ लिएको छ । गठबन्धनबीच तालमेल नभएको भए नेकपा एमाले निकै बलियो हुने थियो भन्ने निर्वाचनको प्रारम्भिक परिणामको ट्रेन्डबाट देखिन्छ । गठबन्धनले काँग्रेसलाई चुनावमा रेस्क्यु गरेको छ ।

गठबन्धनका बाबजुद पनि एमालेले काँग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाका उम्मेदवारहरुलाई कडा चुनौती दिइरहेको छ । यसबाट पनि एमाले एक्लै शक्तिशाली छ भन्ने देखिन्छ । पाँच दलीय गठबन्धन मिलेको भएरै परिणाम उनीहरुको पक्षमा आएको छ ।

पार्टीभित्र दबाब थेगेरै भएपनि देउवाले गठबन्धनबीच चुनावी तालमेल सफल बनाउन सके । यसलाई उनको रणनीतिक सफलता मान्नुपर्ने अवस्था बनेको छ ।

गठबन्धनका दल मिल्दा मिल्दै पनि काठमाडौं महानगरपालिका, जनकपुर र धनगढी उपमहानगरपालिकाहरुमा चुनावी नतिजा गठबन्धनको प्रतिकूल आउन सक्ने प्रारम्भिक चुनावी परिणामले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्