Logo

स्थानीय तह मत गणनाः गठबन्धनलाई प्रारम्भिक अग्रता



काठमाडौं,जेठ १। स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले अधिकांश स्थानमा अग्रता लिएका छन्।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको सुरुआती मतगणनाअनुसार काठमाडौं महानगरबाहेक अन्यमा गठबन्धनका उम्मेदवार अघि छन्।

काठमाडौं महानगरपालिकामा भने गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेस नेत्री सिर्जना सिंह र नेकपा एमाले उम्मेदवार केशव स्थापितलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पछि पारेका छन्।

गठबन्धनकी उम्मेदवार सिंह दोस्रो हुन एमालेबाट प्रमुखको उम्मेदवार बनेका स्थापितलाई पछ्याइरहेकी छन्। प्रारम्भिक मतगणनामा सिंह शाहभन्दा २ सय बढी मतले पछि छिन् भने स्थापितभन्दा १ सय मतले तल परेकी छन्।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेत्री रेणु दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरूको सहयोगमा प्रमुखको उम्मेदवार बनेका एमाले नेता विजय सुवेदीलाई केही मतले पछि पारेकी छन्।

गठबन्धनलाई चुनौती दिँदै मैदानमा खडा भएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानका लागि झिनो मतसहित दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्।

त्यस्तै,ललितपुर महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार कांग्रेस नेता चिरिबाबु महर्जनले प्रारम्भिक अग्रता लिएका छन्। उनको पछिपछि एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार छन्।

पोखरा महानगरपालिकाको प्रारम्भिक मतगणनामा सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता धनराज आचार्यले अग्रता लिएका छन्। एमाले उम्मेदवार थापाले पनि नजिकैबाट पछ्याइरहेका छन्।

वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंहले एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई पछि पारेका छन्।

विराटनगर महानगरमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन्। उनलाई एमाले उम्मेदवार सागरकुमार थापाले पछ्याइरहेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्