काठमाडौं, जेठ १ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अब मतगणना टोली बढाएर चाँडो परिणाम दिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहप्रवक्ता अर्यालले भने, “संघ र प्रदेशमा एक जना मात्र प्रतिनिधि चयन हुन्थ्यो । तर स्थानीय तहमा एउटै मतपत्रको ठूलो पानामा ७ जनाको मत गणना गर्नुपर्छ । एक हजार मतपत्र गन्दा सात हजार मत गन्नुपर्छ । त्यसैले यसमा समय लाग्नु स्वाभाविकै हो । यसमा आयोग चिन्तित छ । अब मतगणना टोली बढाएर सकेसम्म गति बढाउँछौं ।”
उनले आयोगले सम्पूर्ण मत परिणाम आउन एक हप्ताको समय अनुमान गरे पनि थप दुईतीन दिन लाग्ने देखिएको बताए । अर्यालले भने, “एक हप्ताभित्र सम्पूर्ण परिणाम आउने हाम्रो अनुमान थियो । अहिलेको गति हेर्दा त्यसमा थप दुईतीन लाग्छ ।”
निर्वाचन आयोगका सहप्रवक्ताले बाजुराको बुढीगंगा नगरपालिकामा अनुगमन टोली पठाउने पनि बताए । उनले थपे, “त्यहाँ राजनीतिक दलहरुबीच विवाद छ । सत्य तथ्य बुझ्न अनुगमन टोली जाँदै छ । वस्तुनिष्ट जानकारी पाएपछि उचित निष्कर्ष निस्कन्छ ।”
यसपटक पुनः मतदान धेरै हुने भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा अर्यालले भने, “२०४८ सालदेखि चरणबद्ध निर्वाचन भएका थिए । राजनीतिक दलहरुबीच द्वन्द्व सिर्जना भएका थिए । यस पटक एकै चरणमा हुँदा संख्यात्मक रुपमा बढी देखिएको हो । कतिपय ठाउँमा सुरक्षा व्यवस्था पर्याप्त नभएको हामीलाई पनि बोध भएको छ ।”