Logo

मतदाताले खोजे नयाँ अनुहार



समाचार विश्लेषण । लामो राजनीतिक जीवन बिताएकाहरु प्रति मतदातामा आकर्षण घटेको स्थानीय चुनावको मतपरिणामहरुले देखाउन थालेको छ । विगतमा जितेका उम्मेदवारहरु कतिपय स्थानमा हारेका छन् भने मुश्किलले जीतेका छन् । युवाहरुप्रति मतदाताको आकर्षण बढेको छ ।

काठमाडौं महानगरपालिकामा बालेन साहको लोकप्रीय मतले देशभर तरङ्ग ल्याएको छ । उनले पूर्वमेयर केशव स्थापित र नेविसंघको राजनीति गरेकी र गणेशमान सिंहकी परिवारकी सृजना सिंहलाई समेत पछि पारेका छन् । स्वतन्त्र उम्मेदवार साहको मतले बालेनप्रति आकर्षण र पुराना दलप्रतिको वितृष्णा समेत झल्काएको छ ।

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह फराकिलो अन्तरले अगाडि छन् । त्यहाँ गठबन्धनका साझा उम्मेदवारलाई दोब्बर मतले साहले पछि पारेर छक्क पारेका छन् । यसले दलहरुप्रति जनकपुरमा पनि वितृष्णा झल्काएको छ । जनकपुर मधेश प्रदेशको राजधानी हो ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा पनि स्वतन्त्र उम्मेदवार गोपी हमाल अगाडि छन् । हमालले पनि गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् ।

देशको प्रमुख सहरहरुमा मतदाताले स्वतन्त्र र नयाँ उम्मेदवारहरुलाई मतदान गरेबाट सबैको ध्यान खिचिएको छ । नयाँ पीढीले नयाँ अनुहार खोजेको सन्देश हो यो ।

टेष्टेड र नाम सुनेकाहरु विवादमा पर्ने देखि मतदातालाई गरेको बाचा पूरा नगरेबाट तारोमा पर्न गए । उनीहरुमाथि मतदाताको आक्रोश र असन्तुष्टि दुवै थियो । यसको जवाफ मतदानबाट दिए उनीहरुले ।



प्रतिक्रिया दिनुहोस्