काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वास्तविक लोकतन्त्रवादीको पहिचान विजयको क्षणमा नभएर पराजयको मोडमा हुने टिप्पणी गरेका छन् । उनको टिप्पणी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलक्षित छ ।
आज एमालेले स्थानीय तहको निर्वाचनको मतदान र मतगणनामा धाँधली भएको भन्दै विज्ञप्ती निकालेको थियो । त्यसलगत्तै कांग्रेस महामन्त्री शर्माको यस्तो टिप्पणी आएको हो । यसअघि अर्का महामन्त्री गगनकुमार थापाले पनि एमालेले निर्वाचनको अन्तिम परिणाम कुर्ने धैर्यता नराखेको टिप्पणी गरेका थिए ।
शर्माले सामाजिक सञ्जालमार्फत ओलीलाई मेन्शनसमेत गरेका छन् । उनले लेखेका छन्-“जयको क्षणमा होइन पराजयको मोडमा पहिचान हुन्छ वास्तविक लोकतन्त्रवादीको ! नक्कली प्वाँख जब झर्छ तब काग र मयुरको परिचय छर्लङ्ग छुट्टिन्छ भन्ने कमरेड @kpsharmaoli को कुनै समयको भनाइ यतिबेला सम्झनु सायद हामी सबैका लागि सान्दर्भिक र स्वस्थकर हुनेछ ! जय नेपाल !”