सर्लाही, १ जेठ । सर्लाहीको हरिवन–७ मा नेपाली कांग्रेसले मतगणनामा धाँधली भयो भन्दै पुर्वपश्चिम राजमार्ग ठप्प पारेको छ । मतगणनामा धाँधली भएपछि उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रूग्यास प्रहार गरेको छ ।
कांग्रेसको उम्मेदवार अशोक थापा सात मतले निर्वाचित भएको घोषणा पछि केहीबेरमा नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की निर्वाचित भएको अधिकृतले जानकारी दिएपछि विवाद सुरु भएको थियो ।
हरिवन नगरपालिकाका निर्वतमान मेयर गणेश प्रसाद प्रसाईको योजनामा निर्वाचित घोषणा भइसकेका थापालाई पराजित गरेको खबर निर्वाचन अधिकृतले बाहिर ल्याएको कांग्रेस युवा नेता मनिस रायमाझीले आरोप लगाए ।
‘कांग्रेसका उम्मेदवार अशोक थापा सात मतले विजयी भएको घोषणा गरेपछि हामी सबै बाहिरियौ । बाहिरीएको १५ मिनेटमा अलिकति मतपत्र गन्न बाँकी रहेछ त्यो गनियो एक मतले एमालेका उम्मेदवार निरध्वज कार्की विजयी हुनुभएको निर्वाचन अधिकृतले भने ।’ रिपोर्टर्स नेपालसँग कुरा गर्दै रायमाझीले भने, ‘पुनः मतगणनाको माग गर्दा हाम्रो कुरा सुनुवाई भएन र वाध्य भएर पुर्व पश्चिम राजमार्ग बन्द गरेर विरोध गर्दै पुनः मतगणनाको माग गरेका छौ ।’
गत वर्षको स्थानीय तहको निर्वाचनमा हरिवनको मेयरमा एमालेका गणेश प्रसाइ निर्वाचित भएका थिए । प्रसाईमाथि करोडौ बेरुजुको आरोपमा अख्तियारमा उजुरी परेको छ ।