Logo

लुम्बिनी आएका मोदीलाई देउवाले एक क्षणपनि छोडेनन्..



काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा छन् । उनी आज अपरान्ह लुम्बिनी ओर्लिएका हुन् । लुम्बिनीमा उनलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवाबाटै न्यानो आतिथ्यता प्राप्त गरेपछि मोदी उत्साही र खुशी छन् । लुम्बिनी ओर्लिएलगत्तै दुई देशका प्रधानमन्त्री निर्धारित कार्यक्रममा सरिक भएका थिए ।

६ घण्टाको लागि मात्रै लु्म्बिनी आएका मोदीलाई भ्रमणको दौरान नेपालका प्रधानमन्त्री देउवाले धेरै नै महत्व दिएका छन् । उनी मोदीसँगै एकसाथ देखिएका छन् । मायादेवी मन्दिरको दर्शनदेखि नेपाल–भारत उच्चस्तरीय द्धिपक्षीय भेटवार्तासम्म मोदी र देउवा सँगै देखिएका छन् । उक्त भेटवार्तापछि मोदी र देउवा १० मिनेट आ–आफ्नो कोठामा आराम गर्नको लागि मात्रै छुट्टिएका थिए । त्यसपछि उनीहरु फेरि सँगै देखिएका छन् ।

आज नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको हो । हस्ताक्षर भएका समझदारीमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको आइसीसीआरबीच डा. अम्बेडकर चेयर फर बुद्धिष्ट स्टिडिजको स्थापना, त्रीभुवन विश्वविद्यालयको सीनास र काठमाडौं विश्वविद्यालयसँग आइसीसीआर चेयर अफ इन्डियन स्टडिजको स्थापना रहेको छ ।

यसैगरी, काठमाडौं विश्वविद्यालय र आइआइटी मद्रासबीच बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं विश्वविद्यालय र आइआइटीबीच संयुक्त स्तातकोत्तर तहको अध्यापनको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसैगरी, नेपाल विद्युत प्राधिकरण र भारतको सतलज निगमबीच अरुण चौंथो आयोजना निर्माणको पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । मोदी आजै साँझ ५ बजे स्वदेश फर्कनेछन् ।  तस्बिरः रत्न श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot