Logo

मदन भण्डारीको जिप दुर्घटना भएको होइन, हत्या गरेर फालिएको होः ऋषि कट्टेल



२०५० जेठ ३ मेरो जीवनको सबैभन्दा स्तब्ध बनाउने र बिर्सन नसक्ने दिने हो । त्यही दिन भएको नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार रहस्यमय जिप दुर्घटनाको सहयात्री म पनि थिएँ । उहाँहरु पोखराबाट चितवन जाँदै हुनुहुन्थ्यो, म गोरखा । हाम्रो गन्तव्य बेगल बेगल थियो । म बिहानै गोरखा आउन खोज्दै थिएँ । गोरखामा काम गरेर पोखरा नै फर्कनु थियो ।
मदनजीले भन्नुभयो, “हामी पनि तल जाने हो । सँगै गए कुरा गर्दै जान पाइन्छ ।” मलाई उहाँको कुरा उचितै लाग्यो । पोखरामा पार्टी प्रवेशको कार्यक्रम थियो । त्यसैले अलिक ढिलो भयो । ड्राइभरले झन् ढिलाइ गरे । बीचमा कता कता हराए । हामी हिँडेपछि बाटोमा पानी परेको थियो । हामी राजनीतिक छलफलमै व्यस्त भयौं । मदनजी जनताको बहुदलीय जनवादको पक्षधर, म नयाँ जनवादको पक्षधर । मैले भनें, “बहुदलीय जनवाद भनेको पुँजीवाद हो, यसले देशलाई ठीक गर्दैन ।” मदनजीले भन्नुभयो, “ठीक छ, बाटो गलत भयो भने गाडी फर्काउँला नि ।”
म आँबु खैरेनीमा ओर्लिएँ । त्यसको एकडेढ घन्टापछि दुर्घटना भयो भन्ने समाचार फैलियो । मैले भने त्यसलाई दुर्घटना ठानेको छैन । मैले त्रिलोकप्रताप राणा आयोगमा दिएको बयानमा पनि यो कुरा उल्लेख गरेको छु । मेरो विचारमा नेताद्वयको षड्यन्त्रात्मक ढंगले हत्या गरी गाडी मिल्काइएको हो । नेपालमा नेताहरुको सुरक्षा सम्बन्धी कुरामा हामी संवेदनशील संवेदनशील रहेनछौं । त्यतिबेलाका चर्चित नेता, नेकपा एमालेको भरखरै निर्वाचित महासचिव र टनकपुर आन्दोलनको नेताको सुरक्षामा हामीले पनि सोचिएन, मदन स्वयंले पनि सोच्नुभएन ।
यो हत्याकाण्डको पहिलो पात्र ड्राइभर नै हो । मलाई लाग्छ, यो काण्ड उसकै हातबाट भयो । पोखरामा धेरै बेर हराएपछि ऊ अँध्यारो मुख लगाएर आएको थियो । उसले कहिले पेट दुखेको छ, भनेको थियो । उसको साटोमा अर्को मान्छे राख्न नसक्नु हाम्रै कमजोरी भयो । हामी गाडीमा झन्डा नराख बाबु भनेका थियौं । त्यो पनि मानेन । बाटोभरि बोल्दै बोलेन ।
जहाँ बसेर चियापान गरियो भनियो, मुग्लिनजस्तो ठाउँ छाडेर कुनामा चिया खानु पनि रहस्यमय छ । खासमा नेताद्वलयले चिया खानुपर्ने ठाउँ मुग्लिन बजार हो । त्यो एमालेले १४, १५ सय भोट पाएर जितेको अनि दर्जनौं नेता, कार्यकर्ता भएको ठाउँ हो । कहिलेकाहीं दुर्घटना हुन सक्छ । तर जहाँ दुर्घटना भएको छ, त्यो दुर्घटना हुँदै होइन । त्यहाँ स्टेरिङ काट्नु पर्दैन । घुमाएर लगेर फ्याँकेको देखिन्छ । त्यहाँबाट खसिसकेपछि निस्कन सकिँदैन ।
मदन भण्डारीको शव गाजापुरमा जसरी भेटियो, ३२ किलोमिटर तल पुग्दा शरीर थिलथिलो हुनुपर्ने हो । कहीं चोटपटक छैन । बेल्ट लगाएको प्यान्ट छैन, सामान्य इलास्टिक भएको अन्डरवेयर छ । टाँक लगाएको सर्ट छैन, हातमा घडी चाहिं छ । जीवराज आश्रित गाडीमा जसरी बसेको हो, त्यसरी नै भेटिनुभयो । तर मदनजीको साइडमा ढोका लक भएको छ । ड्राइभरपट्टि खुलेको छ । त्यसैले म, यो दुर्घटना होइन, रहस्यमय हत्या हो । भन्छु, यो दुर्घटना होइन, रहस्यमय हत्या हो ।
देखिएको पात्र अमर लामा भए पनि आन्तरिक र बाह्य रुपमा कुन शक्ति प्रयोग भएको छ, सुपर शक्ति को को हो ? म अनुसन्धानकर्ता होइन । म किटान गरेर भन्न पनि सक्दिनँ ।
पछि माओवादी आन्दोलनले युद्धको रुप लिँदै गयो । मदन भण्डारीको हत्यारा पत्ता लगाउँछु पनि भनियो । तर, अमर लामालाई माओवादीको नाममा मारियो । पहिले उसलाई अनुसन्धानको विषय नै बनाइएन । पछि माओवादी सत्तामा आउन लाग्यो । उसलाई कसले मार्यो, किन जोगाउन सकिएन, त्यो पनि म भन्न सक्दिनँ ।

नेपाल कम्युनिस्ट पार्टीका नेता कट्टेलसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित ।

 



प्रतिक्रिया दिनुहोस्