Logo

एमालेको प्रतिपक्षी भूमिका जनताले मन पराएनन्ः पुष्पा भुसाल



काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले स्थानीय तहको निर्वाचनको परिणाममा नेकपा एमालेले पार्टीको आन्तरिक कारण देखाएर आठ महिना संसद् अवरुद्ध गर्नु गलत पुष्टि भएको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “स्थानीय तह निर्वाचनको मत परिणामले के देखायो भने, नेकपा एमालेको प्रतिपक्षी भूमिकालाई जनताले स्वीकार गरेनन् । नेकपा एमालेले आन्तरिक कारण देखाएर ८, ८ महिना संसद् अवरुद्ध गर्नु गलत थियो भन्ने अहिलेको मत परिणामले पुष्टि गरेको छ । संसद् जनताको मुद्दामा विचार र छलफल गर्नुपर्ने थलो हो । अहिले संसद्को अवरोध खोल्नु सकारात्मक हो । आजबाट प्रिबजेट छलफल हुन्छ ।”
अहिले नेपाली कांग्रेसले गठबन्धनको केही लाभ लिए पनि पार्टी पनि लोकप्रिय रहेको भुसालले दाबी गरिन् । उनले भनिन्, “नेपाली कांग्रेसको पक्षमा देशभरि उत्साहजनक देखिएको छ । नेपाली कांग्रेस जनताकेन्द्रित पार्टी हो । आर्थिक रुपमा सबल पनि होइन । यद्यपि पार्टीले लोकप्रिय मत पाएको छ । कांग्रेसले गठबन्धन मात्र होइन, एक्लै पनि प्रतिस्पर्धा गरेको थियो । त्यसमा पनि धेरै जित हासिल गरेको छ । गठबन्धनले केही मात्रामा सकारात्मक असर गर्छ ।”
उनले संविधानमा मिश्रित निर्वाचन प्रणाली रहुन्जेल गठबन्धन आवश्यक हुने पनि औंल्याइन् । उनले थपिन्, “संविधानमा मिश्रित निर्वाचन प्रणाली छ । त्यो रहुन्जेल कुनै पनि दलले बहुमत ल्याउन नसक्ने पुष्टि भइसकेको छ । त्यसैले गठबन्धन गरेर जानुकाृ विकल्प छैन । जहाँसम्म गठबन्धनको कुरा हो, त्यो नेपाली कांग्रेसले मात्र गरेको होइन, नेकपा एमालेले झन् महागठबन्धन गरेको छ । आन्तरिक संगठनमा केही सुधार गर्दै संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन नै गरेर जानुपर्छ ।”
काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको सम्भावना नसकिएको पनि भुसालले बताइन् । उनले भनिन्, “अहिले २५ हजार मत पनि गणना भएको छैन । काठमाडौंमा १ लाख ९१ हजार मत खसेको छ । कोही दलीय भोट हुन्छ, कोही पपुलर भोट हुन्छ । अहिले स्वतन्त्र उम्मेदवारले पाएको पपुलर भोटको संकेत हो । युवाको आकर्षण हो । कांग्रेसले कुशल र योग्य नेतृलाई उम्मेदवार उठाएको छ । अहिले नै मत समीक्षा गर्नु चाँडो हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot