काठमाडौँ,४ जेठ । हुम्लाका सातमध्ये छ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ, सर्केगाड र अदाचनुली गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
चङ्खेली गाउँपालिकाको वडा २ को पुनः आजबाट मतदान भइरहेकाले त्यहाँको मतपरिणाम सार्वजनिक हुन नसकेको हो । हुम्लामा माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।
सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीका विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले एकहजार ९६९ मत ल्याएको हो ।
पालिका उपाध्यक्षमा कांग्रेसका सुशीला रोकायाले दुई हजार ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याए ।
उत्तरी नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित माओवादीका प्रेम लामाले एक हजार ४६६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसका तक्दिर लामाले एक हजार ९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याए ।
खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर अध्यक्षमा विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याए । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंह (भरत) विजयी भए । उनले एक हजार ८७२ मत ल्याए । यस्तै उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याए ।
सर्केगाड गाउँपालिकामा कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए । उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार चन्द्रसिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी भए ।
ताँजकोट गाउँपालिका अध्यक्षमा माओवादीका लालकेश जैसीले एक हजार ८१० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी भएका छन् । थापाले एक हजार ३१० मत प्राप्त गरेर विजयी भए ।
अदानचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवारनै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । पालिका अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंहले एक हजार ५८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दल फडेराले एक हजार तीन सय ५३ मत प्राप्त गरे । पालिका उपाध्यक्षमा माओवादीका कर्ण रोकायाले एक हजार नौ सय ९६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गरे । रासस