काठमाडौं, ६ जेठ । चुनाव अघि नै कम्युनिस्ट एकता वा तालमेल मिलाउने प्रयास सफल हुन सकेन । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरुले तालमेलका लागि परिश्रम गरेका थिए ।
एमालेबाट घनश्याम भुसाल र योगेश भट्टराई तालमेलका मिलाउने प्रयासमा अन्तिम समयसम्म लागेका थिए । माओवादीबाट वर्षमान पुन, जर्नादन शर्मा र हरिबोल गजुरेल सक्रिय रहे । अहिले पनि यीनै नेताहरु आगामी चुनावमा तालमेल या पार्टी एकतासम्मको सफलता हासिल गर्न लागेका छन् ।
विश्वस्त स्रोतका अनुसार घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, जर्नादन शर्मा र हरिबोल गजुरेलबीच भविष्यमा कम्युनिस्ट एकता मिलाउनेबारे छलफल चल्दै आएको छ । उनीहरुले बैठक समेत बसेर नेतृत्वलाई दबाब दिने टुंगो लगाएका छन् ।
एकता जहाँबाट बिग्रिएको छ त्यहींबाट सुरु गर्ने भन्दै नेताहरु बढेका छन् । विशेषगरी ४ पौष २०७७ मा बिग्रिएको एकतामा त्यहींबाट सुरु गर्ने उनीहरुको योजना बनेको छ ।
यसैगरी, एमालेका एकजना प्रभावशाली नेताले हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका छन् । उनले सम्भावित एकता वा चुनावी तालमेलबारे छलफल गरेका हुन् ।
माओवादीभित्र पनि काँग्रेसबाट तालमेल हुँदा पनि मत नआएको विषय उठेको छ । प्रचण्डलाई यसकारण पनि दबाब बढेको छ ।
चुनाव अघि नै ओली कहाँ गल्ती कमजोरी सच्याएर आत्मसमिक्षा गरेर एकताको पहल सुरु गर्ने प्रस्ताव पुगेको थियो । तालमेलको कुरा पनि पुगेको थियो । तर, ओलीले गल्ती स्वीकार्न अस्वीकार गरेको बुझिएको छ । तर, चुनावमा प्राप्त नतिजाले एमालेलाई ठूलो धक्का लागेसँगै त्यहाँभित्र पार्टी एकतामा दबाब बढ्न थालेको बुझिएको छ ।