एजेन्सी, ७ जेठ । चरम आर्थिक संकटका कारण श्रीलंकामा दैनिक उपभोग्य सामाग्रीको अभाव छ । श्रीलंका ऋणको जालोमा परेर थप समस्यामा छ । यसबीच उसलाई केही अन्तर्राष्ट्रिय सहयोगले राहत दिएको छ ।
श्रीलंकालाई भारतले चामल, पाउडर दूध र औषधी सामाग्री पठाएको छ । उक्त सामाग्री आइतबार श्रीलंका पुग्ने समाचार एजेन्सी एएनआईले लेखेको छ । चेन्नईबाट बुधबार जहाजबाट सामाग्री पठाइएको हो ।
तालिम नाडुका मुख्यमन्त्री एम के स्टालिनले ९ हजार मेट्रिक टन चामल, २ सय मेट्रिक टन दूधको पाउडर र २४ मेट्रिक टन औषधी बोकेको कार्गो जहाजलाई झण्डा देखाएर पठाएका हुन् ।
भारतले ३ अर्ब डलरको सहयोगको प्रतिवद्धता अनुसार सामाग्री पठाइरहेको छ । उसले श्रीलंकालाई इन्धन किन्न पनि पछि तिर्ने गरी आर्थिक सहयोग दिइरहेको छ ।
आर्थिक संकटमा फसेपछि श्रीलंकामा खाद्यान्न र इन्धन अभाव छ । त्यहाँ लोडसेडिङ्ग बढेको छ । जनता सडकमा उत्रिएका छन् ।
आर्थिक संकटले रनिल विक्रमसिंघेको नयाँ सरकार बनेको छ । तैपनि, संकत समाधान सहज नहुने देखिएको छ ।-File Photo: Agency