Logo

एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा



काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता मणि थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्नु नपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “स्थानीय तहको निर्वाचनमा कांग्रेस भर्सेस एमाले, एमाले भर्सेस माओवादी केन्द्र भएको होइन । महागठबन्धन भर्सेस एमाले हुँदा पनि हामी खरो रुपमा उत्रिएका छौं । गठबन्धन प्राविधिक रुपमा अगाडि हो, जनमत, संगठन र विचारमा होइन । संख्या घटे पनि जनमत बढेको छ । त्यसैले केपी ओलीको राजीनामा मेजर प्रश्न होइन । माधव नेपालको राजीनामा र यो फरक छ । यसलाई फोटोकपीका रुपमा हेर्नु यान्त्रिकता र जडता हुन्छ । गठबन्धन मूलतः देशी-विदेशी षडयन्त्रमा एमाले र केपी ओलीको लोकप्रियता हराउन बनेको थियो । यो चुनावी परिणामले अब एमाले सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुन्छ ।”
एमाले नेता थापाले गठबन्धनका कारण एमालेले अपेक्षित उपलब्धि हासिल गर्न नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको औंल्याए । उनले भने, “नेकपाको एकता, टुटफुट, एमालेको विभाजनका कारण त्यति धेरै उपलब्धि हासिल गर्न सकिएन । तर अहिले नै वाम गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छैन । त्यसो त अहिले को वामपन्थी को दक्षिणपन्थी छुट्याउनै गाह्रो छ । क्रान्तिकारी र समाजवादी भन्ने वामपन्थी नै कांग्रेससित मिले । ”
उनले राजनीतिमा युवाको आगमन स्वाभाविक भएको पनि बताए । थापाले थपे, “केही सहरमा स्वतन्त्र उम्मेदवारले जिते भन्दैमा राजनीतिक दलहरु असफल भए भन्ने कुरामा मेरो सहमति छैन । समाजसेवी छविका स्वतन्त्र उम्मेदवार लोकप्रिय हुन सक्छन् । तर तिनले दल नखोले वैकल्पिक राजनीतिक धार उदाउँदैन । हाम्रो राजनीतिको ठूलो समस्या भनेकै ७० वर्ष माथिको नेतृत्व हो । महाधिवेशनले य ो विषयलाई हल गर्न सकेको छैन । तर स्थानीय तहमा ४९ प्रतिशत युवा नेतृत्व आउनु स्वाभाविक प्रक्रिया हो ।”
राजनीतिक दल जनताबाट कटेकाले नै जनताले राहत नपाएको उनको टिप्पणी छ । उनले भने, “मुलुकमा कांग्रेसको नेतृत्व स्थापित हुँदा जनताका मुद्दा कमजोर भएर गएका छन् । अहिले जुन मूल्यवृद्धि भएको छ, त्यसका विरुद्ध सदनमा होस् कि सडकमा, सशक्त रुपमा आवाज उठाउनुपर्छ । “



प्रतिक्रिया दिनुहोस्

Screenshot