Logo

विश्व महिनावारी स्वच्छता दिवस–२०२२ को अवसरमा २७ मे मा नेपालमा विशेष कार्यक्रमको आयोजना गरिने, शिक्षामन्त्री पौडेलले उद्घाटन गर्ने



काठमाडौं, ९ जेठ । विश्व महिनावारी स्वच्छता दिवस–२०२२ को अवसरमा शिक्षा मन्त्रालयको आयोजना र राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय महिनावारी सञ्जालले ललितपुरको पाटन ढोकामा आगामी मे २७ २०२२ (शुक्रबार) हुने उक्त कार्यक्रमको शिक्षा मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने जानकारी दिइएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी जोशी विशेष अतिथिको रुपमा उपस्थित् हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले राष्ट्रिय महिनावारी सन्जाल संस्थाले स्थापना कालदेखिनै महिनावारीको विषयमा काम गर्दै आएको बताए । सञ्जालमा १०० वटा जति संस्थाहरु रहेको पनि उनले उल्लेख गरे । उनले आफुहरुले सञ्चालन गरेको सस्थाले विभिन्न देशसँगको सहकार्यमा काम गर्दै आएको जानकारी दिए ।

आम नेपालीहरुले महिनावारीलाई सामान्य रुपमा लिएको भन्दै उनले महिनावारीलाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । उनले भने,‘महिनावारी महिलाहरुको मात्र हो भनेर सामान्य रुपले हेर्ने गरिन्छ । महिनावारी हुँदा महिलालाई पूजा तथा पाठमा रोकथाम लगाइन्छ । त्यसो गरिनुहुँदैन् महिनावारीलाई मर्यादित रुपले हेरिनुपर्छ । यो सांस्कृतिक, धार्मिक र सामाजिक पक्षसँग जोडिएको छ ।’

सामाजिक मान्यताअनुसार महिनावारी भएका महिलालाई मानव रूपमा नहेरेको भन्दै उनले आपत्ति जनाए । मानिसहरुको यस्तो व्यवहारले महिलाको प्रतिष्ठामा नकारात्मक असर पर्ने उनले टिप्पणी गरे । उनले भने,‘जुन कुरा पुरुषमा छैन् त्यो महिलामा छ, त्यो ठुलो शक्ति हो । जसले विश्वको श्रृष्टि धानिएको छ। नेपालजस्तै अविकसित र गरिब देशमा महिनावारीलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्छ ।’

उनले नेपालमा २०१७ मा सञ्जाल स्थापना भएदेखि प्रत्येक वर्ष मे २८ मा अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको सुनाए । मे २८ सँग विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने,‘मे महिना अंग्रेजीको पाँचौ महिना हो र महिनावारी पनि पाँच दिन हुन्छ र २८ दिनको चक्र हुने हुनाले २८ तारिखमा मनाउन थालियो । गज्जबको संयोग मिलाएका छौं ।’ मे २८ मा सार्वजनिक बिदा (शनिबार) परेकोले २७ मे मा कार्यक्रमको आयोजना गर्न लागिएको पनि उनले स्पष्ट पारे ।

‘विद्यालयमा मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी’ नारासहित यो वर्ष विशेष तरिकाले मनाउन लागेको उनको भनाई छ । नेपालको विद्यालयको पाठ्यक्रममा महिनावारीसम्बन्धी शिक्षा कक्षा ४ देखि १२ सम्म दिईएको भन्दै उनले २०७५ सालदेखि सबै विद्यालयमा छात्राहरुलाई निःशुल्क प्याड वितरण गरेकोमा खुशी व्यक्त गरे ।
श्रेष्ठले सरकारले महिनावारीसम्बन्धी छुट्टै संयन्त्र बनाएर काम गर्दा बढी प्रभावकारी हुने भन्दै छुट्टै संयन्त्र बनाउन सरकारलाई सुझाव पनि दिए ।

जस्मिन हाइजनिक प्रोडक्टका म्यानेजिङ डाइरेक्टर पुनित सार्दाले हाल नेपालमा महिनावारी हुने महिलाको संख्या करिब १ करोड रहेको उल्लेख गरे । हरेक दिन ३ महिलामा एक जना महिनावारी भइरहने भन्दै उनले वार्षिक रुपमा १ सय करोड थान प्याडको आवश्यकत्ता रहने बताए ।

हाल नेपालमा ३० प्रतिशत महिलाले महिनावारी हुँदा प्याड प्रयोग गर्दै आएको तथ्यांक सुनाए । नेपालमा प्याड बनाउने ठुलादेखि साना गरेर ३५ देखि ४० वटा उद्योगहरु रहेको उल्लेख गर्दै १५ देखि १७ करोड लगानीका उद्योगहरुले मार्केट लिइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot