Logo

आर्थिक संकटलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम आउनु स्वागतयोग्य : प्रदीप पौडेल



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अर्थतन्त्रको वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आउनु स्वागतयोग्य भएको बताएका छन् ।

नेता पौडेलले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रमहरु सकरात्मक रहेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत पौडेलले लेखेका छन्, ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि गर्ने’ ‘बढी आयात हुने बालीको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिने’ ‘पुँजीगत खर्च बढाउन छुट्टै विकास कानुन बनाउने’ ‘कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृंखलामा जोड्ने’ जस्ता गतिविधिले वर्तमान अर्थतन्त्रको संकटसँग जुध्न महत्वपूर्ण भूमिका खेल्नेछ।यस्ता अवधारणा अघि सार्नुले पनि अहिलेको संकटप्रतिको सरकार संवेदनशिल भएको आभास दिन्छ ।’

नीति तथा कार्यक्रम पुर्णरूपमा लागु हुन भने निश्चयनै ठोस रणनीति र कार्ययोजना आवश्यक पर्ने उनको भनाई छ । वर्तमान सरकारले केवल हचुवाको भरमा मात्रै नीति तथा कार्यक्रम तर्जुमा नगरेको पनि नेता पौडेलले दाबी गरेका छन् ।

यसलाई सफल पार्न यसले अध्ययन अनुसन्धान सहितको ठोस कार्ययोजना अघि सार्नेछ भन्ने कुरा ‘सार्वजनिक नीतिको समग्र विश्लेषणका लागि राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला स्थापना गर्ने’ कार्यक्रमले पनि देखाउँने उनको भनाई छ ।

यसको साथै सार्वजनिक सेवा तथा विकास निर्माणका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरु पनि सकरात्मक रहेको उनले स्पष्ट पारेका छन् । यो चुनावी चटारोको वर्ष भएका कारण नीति तथा कार्यक्रमको अपेक्षाकृत कार्यन्वयन गर्न भने चुनौतिपूर्ण हुने उनको ठहर छ । वर्तमान सरकारको परिस्थितिप्रतिको संवेदनशिलताले यो चुनौति पार लगाउनेमा उनी आशावादी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot