Logo

‘एक्सन’ मा हर्क मेयर



इटहरी, जेठ १२। ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।

यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आपूm धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् ।

मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए । उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् ।

बुधबार खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाई निर्देशनसमेत दिए । ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो,’ साम्पाङले भने ।

उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्नेसमेत बताए । उनले भने, ‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्टा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु ।’

यस्तै, मेयर राईले बिहीबार धरानको मुख्य चोक भानुचोकमा सरसफाइ गर्नका लागि पनि आह्वान गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot