Logo

कार्यालय समयमा भेटिँदैनन् कर्मचारी



काठमाडौं, जेठ १२ । सरकारका झन्डै एक तिहाइ कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। २१ वटा सरकारी कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा १ सय ६ कर्मचारीले कार्यालय समय पालना नगरेको र २३ जनाले बिदा स्वीकृत नगराई अनुपस्थित रहेको पाइएको छ। सरकारले यही जेठ १ देखि कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म तोकेको छ।

कर्मचारीले कार्यालय समय पालना गरेनगरेको विषयमा केन्द्रले मंगलबार सिंहदरबारबाहिरका २१ वटा सरकारी कार्यालयको अनुगमन गरेको थियो। २१ वटा टोली बनाएर छड्के गरिएको थियो। प्रत्येक छड्के टोलीमा दुई कर्मचारी थिए। केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले छड्के अनुगमनका क्रममा ठुलो संख्यामा कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको बताए। तर केन्द्रका एक कर्मचारीका अनुसार छड्के गरिएका कार्यालयमा झन्डै एक तिहाइ कर्मचारीले समय पालना नगरेको पाइएको छ।

केन्द्रले तयार पारेको रिपोर्टमा सहरी विकास तथा भवन निर्माण विभागमा १९, वाणिज्य तथा आपूर्ति संरक्षण विभागमा १०, वैदेशिक रोजगार विभागमा ११, यातायात व्यवस्था कार्यालय एकान्तकुनामा २६, वन तथा भूसंरक्षण विभागमा ५, यातायात व्यवस्था कार्यालय गुर्जुधारामा ३, यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा ३, काठमाडौं महानगरपालिका १४ नम्बर वडा कार्यालयमा ३ र ३२ नम्बर वडा कार्यालयमा २, नापी विभागमा ७, उद्योग विभागमा ५, कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपरेश्वरमा ७ जना कर्मचारीले कार्यालय समय पालना नगरेको उल्लेख छ।

छड्केमा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत चार कर्मचारीले तोकिएको पोसाक नलगाएको पाइयो। २१ वटा सरकारी कार्यालयमा कार्यरत कर्मचारीमध्ये १३ जनाले पोसाक नलगाएको रिपोर्टमा उल्लेख छ। सरसफाइतर्फ २१ कार्यालयमध्ये धेरैजसोले सामान्य सरसफाइ गरेको पाइएको रिपोर्टमा छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot