Logo

‘बच्चन पाण्डे’ फ्लप पछि अक्षयले घटाए पारिश्रमिक



एजेन्सी,१२ जेठ । अक्षय कुमार बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा परेका छन् । अक्षयले एउटा फिल्मका लागि करिब १०० देखि ११० करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन् ।

भर्खरै आएको रिपोर्ट अनुसार अक्षयले ‘बच्चन पाण्डे’ फ्लप भएपछि आफ्नो आगामी प्रोजेक्टको शुल्क घटाएका छन् । मिडिया रिपोर्टका अनुसार अभिनेताले आफ्नो आगामी प्रोजेक्टहरूको शुल्क कटौती गर्ने निर्णय गरेका छन् । आफ्नो पछिल्लो फिल्म ‘बच्चन पाण्डे’ फ्लप भएपछि उनले यस्तो गरेका हुन् । तर, अभिनेताले आफ्ना सबै प्रोजेक्टको शुल्क भने घटाउँदैनन् । कम र मझौला बजेटका फिल्मका लागि मात्रै कलाकारहरुले पारिश्रमिक घटाउने सहमति गरेका छन् । ‘सेल्फी’ र ‘सुरराई पोत्रु’ रिमेक जस्ता प्रोजेक्टका लागि अक्षयले आफ्नो पारिश्रमिक १०० करोडभन्दा कम लिनेछन् ।

अक्षय कुमारको पछिल्लो रिलिज फिल्म ‘बच्चन पाण्डे’ १८० करोडको बजेटमा बनेको थियो । रिपोर्टका अनुसार अक्षयले फिल्मका लागि मात्रै सय करोडभन्दा बढी लिएका कारण फिल्मको बजेट बढाइएको थियो । फिल्मले रिलिजपछि बक्स अफिसमा ५० करोड मात्रै कलेक्सन गर्न सकेको थियो । ‘बच्चन पाण्डे’ मात्र नभई ‘बेलबटम’ जस्ता फिल्मको बजेट पनि अभिनेताको उच्च पारिश्रमिकले बढेको छ ।

बच्चन पाण्डे १८ मार्च २०२२ मा होलीमा रिलिज भएका थिए । फिल्ममा अक्षय कुमारका अलावा कृति सेनन, अरशद वारसी र ज्याकलिन फर्नान्डिज पनि मुख्य भूमिकामा थिए। फिल्मलाई फरहाद सामजीले निर्देशन गरेका थिए । अक्षय कुमार छिट्टै ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओह माई गड २’ फिल्ममा देखिनेछन् । उनले हालै फिल्म ‘राम सेतु’ को छायांकन सकिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot