Logo

निर्वाचन आयोग बूढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन अनिर्णित, खाती र थापाबीचको व्यक्तित्व टकराव देखियो



काठमाडौं, १२ जेठ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको पनि एक साता पुग्न लागिसकेको छ । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने बताएका छन् । ‘माननीय आयुक्त सगुनशम्शेर जबराज्यू नेतृत्वको उच्चस्तरीय स्थलगत अध्ययन टोलीको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदन अध्ययन भइरहेको छ । आशा गरौँ, आयोगबाट चाँडै निर्णय हुन्छ’, जबराले भने ।

३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप छ । उनीहरू फेरि मतदानको पक्षमा छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् । बाजुराको बूढीगंगा नगरपालिका महान्यायाधिवक्ता खम्मबहादुर खाती र एमाले नेता कर्णबहादुर थापाको गृहपालिका हो । खातीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । उनी देउवानिकट मानिन्छन् ।

उता, थापा भने एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । यी दुई व्यक्तित्वबीचको टकराव अहिले बाजुरामा देखिएको छ । निर्वाचन भएको आज दुई साता बित्न लाग्दासमेत मतपेटिका विद्यालयमै राखिएको छ । स्थानीयहरुले बालबालिकाहरुको पठनपाठन प्रभावित बनेको भन्दै तत्काल मतदान वा मतगणनाको लागि निर्णय लिईनुपर्ने माग गरेका छन् । दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot